पोखरामा कोटी होमदेखि हलसम्म राजेश हमाल

२३ जेठ २०८२ ४:३०

चलचित्र ‘नरसिंहाः अवतार’ रिलिजको दोस्रो सातासम्म आइपुग्दा पनि ‘महानायक’ राजेश हमालको देश दौडाहा रोकिएको छैन । यो चलचित्रको प्रचारलाई हमालले अझै आक्रामक रुपमा अगाडि बढाइरहेका छन् ।

सो चलचित्रलाई अझै आक्रामक बनाउनका लागि चलचित्रका सिंगो टिमसहित हमाल मंगलबार पोखरा पुगे । पोखरामा जारी कोटी होममा नायक हमालले १ घन्टा समय बिताए । कोटी होममा पुगेर उनले जीवन र दर्शनको कुरा गरे । धर्म र मनोरञ्जनको कुरा गरे । हमालको कुराले पोखरेलीहरुले प्रभावित बनेका थिए ।

कोटी होममा १ घन्टा जस्तो समय बिताएका राजेश हमाल पोखराका मिडटाउन र क्यूएफएक्स हलमा दर्शकसँग साक्षात्कार गर्न पुगेका थिए । हलमा पुगेका हमालले दर्शकसँग तस्वीर खिचाए, नृत्य गरे र खुशी साटे । फिल्मको बारेमा हमालले दर्शकसँग प्रतिक्रिया पनि लिए ।

पोखरामा हमालको क्रेज गज्जब देखियो । हमाललाई चलचित्रको टिमले बाजा गाजा बजाएर स्वागत गरेको थियो । हल–हलमा बाजा बजाउँदै हमाललाई प्रवेश गराइएको थियो ।

पोखरेली दर्शकहरू राजेश हमालको उपस्थितिले दंग देखिए । हमालको साथमा चलचित्रका मुख्य नायक राज कटुवाल, नायिका सनिषा भट्टराई, निर्माता ध्रुव न्यौपाने, बाल कलाकार एभिलिना खड्का, कलाकार रमेश चन्द सोडारी, वितरक छविराज ओझा लगायत पोखरा पुगेका थिए ।

जेठको ९ गतेबाट रिलिजमा आएको चलचित्रमा ध्रुव न्यौपाने, नेम महर्जन, नरेन्द्र महर्जन, दीपक प्रसाद ढकालको लगानी छ । चलचित्रमा दिवाकर भट्टराईको लेखन तथा निर्देशन छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *