निर्देशक नवीन चौहानले निर्देशन गरेको वि.सं. २०८२ सालको पहिलो सुपरहिट चलचित्र बन्न सफल ‘ऊनको स्वीटर’ले चौथो हप्तासम्म आइपुग्दा पनि नेपाली बक्स अफिसमा धमाका मच्चाइरहेको छ । प्रदर्शनको तेस्रो हप्तामा नै १० करोडमाथिको ब्यापार गरेको यो चलचित्रले व्यावसायिक रेकर्ड बनाएको छ।
सोहि खुसीको अवसरमा निर्माणटीमले मंगलबार काठमाडौंको चाबहिलस्थित एफक्युब सिनेमा हलमा चलचित्र हेरेका दर्शकहरूमाझ केक काटेर सेलिब्रेसन गरेको छ । सो अवसरमा प्रमुख कलाकार विपिन कार्की, एलेक्स पारस, परीक्षा लिम्बु, शारदा देवी सिलवाल, भावना खपाङ्गी मगर, गायक सुजन चापागाईँ, सङ्गीत निर्देशक कोविद बज्र, गीतकार हर्क साउद, छायाकार चिन्तन राजभण्डारी र निर्देशक नवीन चौहान लगायतको उपस्थिति थियो ।
केकमा चलचित्रका पोस्टरहरू र चर्चित गीतहरूको झल्को दिने चित्रहरू राखिएको थियो । यो चलचित्र हाल नेपालभरका १०० भन्दा बढी शो तथा अमेरिका, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, युरोप, मध्यपूर्वलगायतका देशहरूमा यसको प्रदर्शन भइरहेको छ । चलचित्रमा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, सुनिल पोखरेल लगायतका कलाकारको अभिनय छ ।