निर्देशक चन्द्र पन्तले निर्देशन गर्ने चलचित्र ‘आ बाट आमा’मा अभिनेता पल शाह अनुबन्ध भएका छन्। उनलाई हालै निर्माण टिमले चलचित्रको प्रमुखमध्यको एक भूमिकामा अनुबन्धित गरेको हो।
यो चलचित्रमा अनुबन्धित भइसकेपछि पलले आफुलाई स्क्रिप्ट मन परेको कारण काम गर्न उत्साहित भएको बताए। उनले भने,‘सबैभन्दा पहिला त यो चलचित्रको स्क्रिप्ट मन पर्यो। स्क्रिप्टमा एकदमै इमोसनल छ। अनि टिममा पनि दिग्गज कलाकारहरुको टिम लिएर निर्माण गर्न लाग्नु भएको रहेछ। त्यसैले पनि मैले ‘आ बाट आमा’मा काम गर्न उत्साहित भए। ‘
निर्माणपक्षका अनुसार, यो चलचित्रको छायांकन चाँडै नै हुनेछ। तर, यो चलचित्रमा पालाको भूमिका बारे अहिले नै केहि खुलाईएको छैन। केहि समयपछि यसको बारेमा थप जानकारी दिने निर्माणपक्षको भनाई छ।
यसअघि आमाको भुमिकाका लागि अभिनेत्री विपना थापा अनुबन्ध भइसकेकी छन्। निर्देशक पन्तले नै गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘ह्रस्वदीर्घ’मार्फत १६ वर्षको अन्तरालमा विपनालाई नेपाली रजतपटमा पुनरागमन गराएका थिए। त्यो सहकार्य निकै दर्शकले मन पराएका थिए। विपनाको र निर्देशक पन्तको यो दोस्रो सहकार्य हो। निर्देशक पन्तका अनुसार, चलचित्रमा विपनाको शीर्ष भूमिकामा रहनेछ।
अभिमन्यू निरवीले स्क्रिप्ट लेखिरहेको यो चलचित्रको थिम पोष्टर केहि दिनअघि सार्वजनिक भएको थियो। जहाँ आमाको आँखाबाट खस्न लागेको आँसुलाई बच्चाको हातले अड्याउने कोसिस गरेको थियो। यो चलचित्रले आमा र सन्तानबीचको गहिरो कथा भन्ने छ। चलचित्रलाई आगामी फाल्गुन १५ गते रिलिज गर्ने तयारि निर्माणपक्षको छ।