चन्द्रको,‘आ बाट आमा’मा विपना अनुबन्धित

१२ जेठ २०८२ ६:०६

निर्देशक चन्द्र पन्तको निर्देशन रहने चलचित्र ‘आ बाट आमा’मा अभिनेत्री विपना थापा अनुबन्ध भएकी छन्। उनलाई निर्देशक पन्तले केहि दिनअघि अनुबन्ध गरेका हुन्।

१६ वर्षको अन्तरलामा ‘ह्रस्वदीर्घ’मार्फत नेपाली रजतपटमा पुनरागमन गरेकी अभिनेत्री थापासँग पन्तको यो दोस्रो सहकार्य हो। यो चलचित्रमा विपनाको शीर्ष भूमिका रहने छ। उनैको कथा वरिपरी चलचित्रको कथा घुम्नेछ।

निर्देशक पन्तले भने,‘विपना थापाको नै मुख्य भुमिका हो। उहाँको यस चलचित्रमा राम्रो क्यारेक्टर रहेको छ। आफु निर्देशक तथा लेखकको हिसाबमा भन्नु पर्दा नेपालमा अहिलेसम्म यस्तो इमोसनल बनेको छैन। त्यति दर्शकलाई इमोसनल बनाउने कथा छ। त्यसैले यो क्यारेक्टर विपना थापालाई नै सुहाउने भएर अनुबन्ध गरेका हौँ।’

भदौँ महिनाबाट छायाँकनमा जान लागेको यस चलचित्रमा काम गर्न पाउँदा आफु निकै उत्साहित भएको विपनाको भनाई छ। अभिनेत्री थापाले पनि यस चलचित्रको कथा सुन्दा नै आफुलाई भावुक बनाएको र काम गर्न राजी भएको जानकारी दिइन्।

यो चलचित्रमा काम गर्नुको मुख्य कारण दमदार स्टोरी नै रहेको बताईन्। उनले थपिन्,‘यो चलचित्रको स्टोरी सुन्दा भावुक मात्र होइन। एकदमै रोएँ। यस चलचित्रको ‘आ बाट आमा’मा राखिने गीत सुन्दाखेरि पनि रोएँ। तपाई आफैले पनि यो गीत सुन्दाखेरि रुनुहुन्छ। यसअघि प्रदर्शनमा आएको चलचित्र ‘ह्रस्वदीर्घ’को गीत जति मार्मिक छ नि,त्यो भन्दाबढि मार्मिक गीतहरु यो चलचित्रमा रहेको छ।’

अभिनेत्री थापाले यसअघि ‘ह्रस्व दीर्घ’मा मेयरको भूमिकामा निवार्ह गरेकी थिइन्। यो फिल्मले दर्शकमाझ राम्रो छाप छोड्न सफल भएको थियो। अभिमन्यू निरवीले स्क्रिप्ट लेखिरहेको यस चलचित्रको थिम पोष्टर केहि दिनअघि सार्वजनिक भएको थियो। जहाँ आमाको आँखाबाट खस्न लागेको आँसुलाई बच्चाको हातले अड्याउने कोसिस गरेको थियो। चलचित्रले आमा र सन्तानबीचको गहिरो कथा भन्ने छ। आमाको भुमिकामा विपना भएता पनि अन्य कलाकारको भने छनोट हुन बाँकी नै रहेको निर्माण पक्षले जनाएको छ। अन्य कलाकार र प्राविधिकहरुको पनि टुङ्गो छिट्टै लाग्ने निर्देशक पन्तले बताए। उनका अनुसार यो चलचित्र आगामी फाल्गुन १५ गतेबाट सार्वजनिक रुपमा नै प्रदर्शनमा आउने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *