लिराम चौहानले निर्देशन गर्ने चलचित्र ‘द ब्ल्यू लाइट’ निर्माणको घोषणा गरिएको छ । मंगलबार निर्माणपक्षले थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरेको हो ।
चौहानको यो डेब्यु निर्देशन हो । चौहान अहिलेको प्रतिक्षित चलचित्र ‘बलिदान’को लेखक तथा मुख्य सहायक निर्देशक हुन् । स्काइफल पिक्चर्सको प्रस्तुति रहने ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा रमन ग्रे रहनेछन् । ‘द ब्ल्यू लाइट’लाई नरेन्द्र मैनालीले खिच्नेछन् ।
सन् २०२५ भित्रै प्रदर्शन लक्ष राखिएको यो चलचित्रको थिम पोस्टरमा नामजस्तै निलो कलरको बीचमा एक बालिका उभिएकी छन् । उनको शरीरको कम्मरदेखि माथिको पछिल्लो भाग देखिन्छ । निर्देशकले थिम पोस्टरले भन्न खोजेको के हो, चलचित्रको कथा के हो प्रष्ट पारेका छैनन् ।
उनले कलाकारबारे पनि केही जानकारी दिएका छैनन् । केही समयपछि कलाकारको लाइनअप सार्वजनिक गर्ने निर्देशक चौहानले बताएका छन् ।
‘हामी विस्तारै चलचित्रबारे थप जानकारी दिँदै जानेछौँ । कलाकारका लागि पनि केहीसँग कुरा भइरहेको छ, फाइनल भएपछि जानकारी दिन आउने छौँ,” निर्देशक चौहानले भने, ‘अहिले बनारमा नाम चलेका प्रमुख कलाकारहरू नै हाम्रो सिनेमामा हुनुहुनेछ ।’