यहि जेठ १५ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘महाभोज’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै यो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो।
करिब साढे चार मिनेट लामो ट्रेलरले सहकारी संस्थागत प्रणालीमा जकडिएका पीडितहरूको मार्मिक कथा उठाएको छ । ट्रेलरमा यसको प्रमुख पात्र दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौला प्रमुख भूमिकामा चित्रित छन् । ट्रेलरका बीचबीचमा सहकारीमा जम्मा गरेको रकम नपाएर औषधि मात्र होइन, ज्यान नै गुमाउन पुगेका आम मानिसको त्रासदी, जागिरे कर्मचारीको मनोवेदना र राजनीतिकरूपले चलखेल गर्नेहरूको दम्भ झल्किन्छ ।
निर्देशक दिनेश राउतले निर्देशन गरेको यो चलचित्रको ट्रेलरको अन्त्यतिर भित्तामा ‘सत्य कहिल्यै लुक्दैन’ लेखिएको दृश्यले चलचित्रले वास्तविक सत्यको खोजी गर्न प्रतिबद्ध देखिएको छ ।
विकास सुवेदीले कथा तथा पटकथा लेखेको यस चलचित्रलाई क्लक वर्क क्रियशन र पिक्चर फ्रेमले निर्माण गरेका हुन् । चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतको अभिनय रहेको छ ।