नवीन चौहानको लेखन तथा निर्देशन रहेको चलचित्र ‘ऊनको स्वीटर’ले रिलिजको पहिलो सातामै ५ करोड ७५ लाख रुपैयाँ ग्रस कलेक्सन गर्दै धमाकेदार व्यापारिक सफलता आर्जन गरेको छ । निर्माण कम्पनी आर्टमाण्डू नेपाल प्रा.ली.ले शुक्रवार बिहान आधिकारिक रूपमा कलेक्सन रिपोर्ट सार्वजनिक गरेको हो ।
आजबाट दोस्रो हप्तामा प्रवेश गरेको यो चलचित्रले रिलिजको पहिलो दिनदेखि नै दर्शकको मन जित्दै हाउसफुलको व्यापार गरेर दैनिक ३०० भन्दा बढी शोहरू सहित प्रदर्शनमा छ।
दोस्रो हप्तामा अन्य नयाँ चलचित्रहरूको रिलिजको बाबजुद पनि करिब २ सय शो सहित ‘ऊनको स्वीटर’ले प्रदर्शन आरम्भ गरेको छ । दोस्रो हप्ताको पहिलो दिन पनि दर्शकको चासो उत्तिकै कायम रहेको देखिएको छ । दर्शकहरूको स्वतन्त्र समीक्षाबाट चलचित्रले थप चर्चा कमाइरहेको छ । कलाकारहरू विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलको दमदार अभिनय, जीवन्त संवाद र प्रभावशाली निर्देशनले चलचित्रलाई ‘हिट’ बनाएको दर्शकको प्रतिक्रिया छ ।
हलमा दर्शकको उत्साहजनक उपस्थिति कायम रहँदा दोस्रो साताबाट देशव्यापी कलाकार परिचय तथा प्रचार भ्रमण थालिने भएको छ । निर्देशक नवीन चौहानका अनुसार भ्रमण दमौलीबाट सुरु भई पोखरा, चितवन, बुटवल, दाङ, नेपालगन्ज, धनगढी, दमक, धरान, विराटनगर र इटहरीसम्म विस्तार हुनेछ । भ्रमणमा अभिनेता विपिन कार्की, अभिनेत्री परीक्षा लिम्बु, एलेक्स पारस, गायक सुजन चापागाईँ सहभागी हुनेछन् ।
‘ऊनको स्वीटर’को यो उल्लेखनीय सफलता नेपाली चलचित्र उद्योगका लागि उत्साहजनक सन्देशका रूपमा हेरिएको छ, जसले गुणस्तरीय सामग्री, प्रस्तुति र सशक्त प्रचारमार्फत दर्शकलाई हलसम्म ल्याउन सकिने स्पष्ट प्रमाण प्रस्तुत गरेको छ ।