‘जार’ अमेरिकासहित विभिन्न देशमा प्रदर्शन हुने

३ जेठ २०८२ ६:१२

गत शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘जार’ले मध्यपूर्वका देशहरूमा (मे १५) बिहीबारबाट एकसाथ प्रदर्शन थालनी गरेको छ । निर्माण कम्पनी फेरि टेल पिक्चर्सले युएई, कतार र बहराइनमा बिहीबारबाट चलचित्रको प्रदर्शनी शुभारम्भ भएको जानकारी गराएको हो ।

निर्देशक फुर्वाछिरिङ लामाले युएईका सहरहरू दुबई, अवुधावी, अज्मान र सारजाहका स्थानीय हलहरूमा चलचित्र प्रदर्शनमा आएको बताए । यस्तै कतारको दोहा, बहराइनको मनामा लगायतका सहरहरूमा ‘जार’ एकसाथ प्रदर्शनीमा आएको हो ।

नेपाल र भारतमा उत्कृष्ट समीक्षा पाएको यो चलचित्र वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित छ। चलचित्रले २ सय वर्ष पुरानो नेपाली समाजको वास्तविक कथा बोल्छ । चलचित्रमा अभिनेता द्वय सौगात मल्ल, अनुपविक्रम शाही र भारतीय राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापाको प्रमुख अभिनय छ ।

होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको चलचित्रको कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा, सरवानन इलावार्सुको छायांकन, अखिलेश राईको सम्पादन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *