निर्देशक दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको प्रतिक्षित चलचित्र ‘नरसिंहाः अवतार’को विदेशी बजारमा माग चुलिएको छ । यो चलचित्रको ट्रेलर सार्वजनिक भएपछि यसको माग अझै बढेको हो।
निर्देशक भट्टराईले विदेशबाट चलचित्रको माग उच्च भएको भन्दै विभिन्न देशका लागि कुराकानी भइरहेको बताए । यसैबिच, नेपाली चलचित्रका लागि सबैभन्दा ठूलो बजार मानिएको अष्ट्रेलियामा यसको प्रदर्शन अधिकार विक्री भएको छ ।
जेठको ९ गतेबाट रिलिजमा आउन लागेको यो चलचित्रको अष्ट्रेलिया विक्री अधिकार बीआई इभेन्ट्सले खरिद गरेको हो । यो चलचित्र कति रकममा अष्ट्रेलियामा रहेको बीआई इभेन्ट्सले खरिद गर्यो भन्ने निर्माणपक्षले खुलाएको छैन ।
‘महानायक राजेश हमालको क्रेज र चलचित्रको चर्चा अष्ट्रेलियामा खुबै छ । यसैले, दर्शकहरुको मागलाई ध्यानमा राखेर हामीले यो चलचित्रको अष्ट्रेलिया अधिकार खरिद गरेका हौं । आशा छ, यो चलचित्रले अष्ट्रेलियाका दर्शकहरुको मन जित्नेछ ।’ बीआई इभेन्ट्सकी वर्षा इटानीले भनिन्।
इटाआनॆका अनुसार, यो चलचित्र नेपालमा रिलिज भएको केही समयमै अष्ट्रेलियामा रिलिज हुनेछ । नेम महर्जन, दीपक ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानीमा तयार भएको यो चलचित्रमा राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, रमेश चन्द सोडारी, दीपा शाही लगायतका कलाकारहरूको अभिनय छ ।