उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा तयार हुन लागेको चलचित्र ‘जारी २’को शुभसाइतसँगै छायांकन सुरु गरिएको छ । निर्माणपक्षका अनुसार आजबाट यो चलचित्रको छायांकन सुरु गरिएको हो।
‘जारी’को सिक्वेलमा निर्माण हुन लागेको यो चलचित्रको सम्पूर्ण छायांकन पाँचथरमा गरिनेछ। यो चलचित्रमा दयाहाङ राई, विजय बराल, मिरुना मगर, वुद्दि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, वेदना राई, सिर्जना निङ्लेखु लगायतका कलाकारहरूको अभिनय रहनेछ ।
यो चलचित्रलाई दशैंमा प्रदर्शन गर्ने घोषणा यसको निर्माणपक्षले गरिसकेको छ । बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को व्यानरमा निर्माण हुने यो चलचित्रमा रामबाबु गुरुङको लगानी रहनेछ। चलचित्रले माओवादी जनयुद्धको कथालाई पेश गर्नेछ ।
‘जारी’ वि.सं २०८० सालमा रिलिज भएको चलचित्र हो । चलचित्रले बक्स अफिसमा १७ करोडको ग्रस कलेक्शन गरेको थियो ।