दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘नरसिंहाः अवतार’को ट्रेलरले सार्वजनिक भएको २ दिनमै युट्युबमा १० लाख भ्यूज पाएको छ । युट्युवको मुभी सेक्सनमा यो चलचित्र ३ नम्बर ट्रेन्डिङमा छ ।
दर्शकहरुको उत्कृष्ट प्रतिक्रिया मिलिरहेको यो चलचित्रको ट्रेलर म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा ४ हजार ३ सय भन्दा बढी प्रतिक्रिया मिलेको छ । अधिकांशले उत्कृष्ट प्रतिक्रिया दिएका छन् ।
राजेश हमालको गर्जन लामो समयपछि हेर्न पाइयो भन्दै दर्शकहरु उत्साहित देखिएका छन् । सामाजिक संजालमा पनि यो चलचित्रको ट्रेलरलाई उच्च शेयर गरिएको छ ।
महानायक राजेश हमालको ८ वर्षपछिको कमब्याक चलचित्र भएकाकारण पनि दर्शकहरुको लागि निकै प्रतिक्षित मानिएको छ ।
चलचित्रमा राजेश हमालको साथमा नीति शाह, राज कटुवाल, सनिषा भट्टराई, सरोज खनाल, नीर शाह, अर्जुन श्रेष्ठ, उषा खड्गी, दीपा शाही, रमेश चन्द सोडारी, आशा पौडेल, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, एल्भिना खड्का, समाइरा थापा लगायतको अभिनय छ ।
यो चलचित्रको ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ बोलको गीत सर्वाधिक चर्चामा छ । ट्रेलरले समेत उच्च हाइप बनाउँदा फिल्मले बक्स अफिसमा सुखद ओपनिङ गर्ने अपेक्षा गरिएको छ । यो फिल्ममा नेम महर्जन, नरेन्द्र महर्जन, दीपक ढकाल र ध्रुव न्यौपानेको लगानी छ ।