‘ऊनको स्वीटर’को अग्रिम बुकिङ खुला, दर्शकको उत्साह उल्लेखनीय

२५ वैशाख २०८२ ६:१९

भोलि वैशाख २६ गते शुक्रवारबाट प्रदर्शनमा आउने चलचित्र ‘ऊनको स्वीटर’को अग्रिम टिकट बुकिङ सुरु भइसकेको छ । टिकट बुकिङ खुल्नासाथ दर्शकको उत्साह उल्लेखनीय रूपमा देखिएको छ र दर्शकहरूले टिकट खरिद गर्न थालिसकेका छन् ।

टिजर, ट्रेलर र गीतमार्फत पहिल्यै चर्चा बटुल्न सफल यो चलचित्रप्रति दर्शकको चासो अझै तीव्र बनेको छ । नेपालकै सबैभन्दा ठुलो हल सञ्जाल क्युएफएक्सले मङ्गलवारदेखि नै टिकट बुकिङ खुला गरेको हो । त्यस्तै, काठमाडौं उपत्यकाका बिग मुभिज, आइएनआई, एफक्युब लगायतका हलहरू तथा उपत्यका बाहिरका प्राय: हलले पनि टिकट बिक्री सुरु गरिसकेका छन् ।

वितरक गोविन्द शाहीका अनुसार, यो चलचित्रले तीन सयभन्दा बढी शो प्राप्त गर्ने प्रक्षेपण गरिएको छ। शो सङ्ख्या र दर्शकको चासो हेर्दा चलचित्रले राम्रो सुरुवात गर्ने अपेक्षा गरिएको छ ।

आर्टमाण्डू प्रा.लि. को ब्यानरमा निर्माण भएको चलचित्रमा अभिनेता विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस र विल्सन विक्रम राई मुख्य भूमिकामा देखिँदै छन् । उनीहरूका साथमा अनुभवी कलाकारहरू सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमु, शारदा देवी सिलवाल, र भावना खपाङ्गी मगर लगायतको दमदार अभिनय रहनेछ ।

निर्देशक नवीन चौहानको पहिलो फिचर चलचित्र ‘ऊनको स्वीटर’को कथा पाँचथरदेखि भारतको वेस्ट बङ्गालको सीमासम्म फैलिएको छ । चौहानले यसअघि ‘घुमी घुमी’, ‘देखेर तिमीलाई – तीनपाते’, ‘फूलथुङ्गे रानी’, ‘चन्द्रमा’ जस्ता चर्चित सङ्गीतमूलक चलचित्र निर्देशन गरिसकेका छन् ।

यो चलचित्रले सांस्कृतिक विविधता, सामाजिक अन्तर्विरोध, र नेपाली समाजको जीवन्त रङ्गहरूलाई एउटै कथामा समेट्ने प्रयास गरेको निर्देशक चौहानले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *