‘जार’को भव्य प्रिमियर

२४ वैशाख २०८२ ७:३३

नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउने चलचित्र ‘जार’को भव्य प्रिमियर सम्पन्न भएको छ । नेपाली भाषीहरुको बाहुल्यता रहेको भारतका दुई सहर सिक्किम र सिलिगुडी प्रिमियरपछि मंगलबार ललितपुरको लाभिम महलस्थित क्यूएफएक्समा विभिन्न तहका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा ग्रयाण्ड प्रिमिएर सम्पन्न भएको हो ।

मगर समुदायको संस्कृति झल्किने नृत्यसहित सुरु भएको प्रिमियरमा पूर्वप्रधानमन्त्री एवं नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराई, लितपुरका सांसद उदय शमशेर जबरा, अभिनेत्री मनिषा कोइराला, नेतृ हिसिला यमील, अभिनेता विपिन कार्की, अभिनेत्री केकी अधिकारी, निर्देशक प्रदिप भट्टराई, ज्ञानेन्द्र देउजा, दिपेन्द्र लामा, नवल नेपाल लगायत साहित्यकार र पत्रकारको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।

यो चलचित्र हेरेपछि अधिकांशले तारिफ गरेका छन् । संस्कृति, संस्कार र बहादुरीको कथा झल्काउने यो चलचित्रले प्रेम र वीरता पनि प्रस्तुत गरेको भन्दै प्रशंसा गरिएको छ ।

पूर्वप्रधानमन्त्री भट्टराईले इन्द्रबहादुर राईको कथामा बनेको दुई सय वर्ष पुरानो परिवेशको चलचित्र ‘जार’ पूर्ण मौलिक चलचित्र बनेको बताउँदै त्यति बेलाको समाज बुझ्न र नेपालमा जार प्रथाको इतिहास बुझ्न पनि अहिलेको पुस्ताले यो चलचित्र हेर्नु पर्ने सुझाव दिए ।

‘पाठकले रुचाएको कथालाई निर्देशकले उही मर्ममा कलात्मक शैलीले प्रस्तुत गर्नुभएको छ । नयाँ पुस्ताले नेपालको इतिहास बुझ्नका लागि पनि चलचित्र ‘जार’ हेर्नुपर्छ भन्ने मलाई लागेको छ,’ उनले भने, ‘आफूले आईएसीमा पढेको इन्द्रबहादुर राईको जार कथालाई आज चलचित्रमा हेर्न पाउँदा निकै आनन्द आयो ।’

यस्तै, ललितपुरका सांसद उदय शमशेर जबराले ‘जार’ आफूलाई एकदम फरक र पूर्ण मौलिक चलचित्र लागेको बताए । अभिनेत्री मनिषा कोइरालाले पनि ‘जार’ नेपाली चलचित्रको बढ्दो स्तरको प्रमाण भएको बताइन् । उनले भनिन्, ‘हामीले पछिल्लो समय उत्कृष्ट चलचित्र दिएका छौँ र ‘जार’ त्यसैको निरन्तरता हो । यसले हाम्रो इतिहास र साहित्यलाई चलचित्रको माध्यमबाट जीवन्त बनाएको छ । प्राविधिक पक्षमा केही चुनौती भए पनि कथा भन्ने शैलीमा हामी विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्छौँ ।’

अभिनेता विपिन कार्कीले ‘जार’ नेपाली चलचित्रको विकासमा एउटा महत्वपूर्ण पाइला भएको बताए भने अभिनेत्री केकी अधिकारीले निर्देशक फुर्वाछिरिङ लामाको दृढ आत्मविश्वासको प्रशंसा गरिन् ।

प्रिमियरपछि अभिनेता सौगात मल्लले आफूले २६–२७ वर्ष देखि कल्पना गरेको चलचित्रमा काम गर्न पाउँदा निकै खुसी लागेको बताए । यस्तो पात्र निभाउने हरेक कलाकारलाई लोभ हुने भन्दै आफूले मौका पाएको उनले खुसी व्यक्त गरे । उनले भने, ‘एकदमै नछुटाउने खालको चलचित्र बनेको छ । यो मेरो २६–२७ वर्ष देखिको एउटा कल्पना थियो । कतिपटक मलाई यस्तोसम्म भयो कि मैले यो फिल्म गरिसके जस्तो लाग्थ्यो । त्यति मन परेको थियो । कुनै दिन गर्छु भनेर कुरेर बसेको थिए । धेरै ६–७ वर्ष देखि नै प्रयास गर्दा भएको थिए । तर अहिले आएर बन्न लेखेको रहेछ । यस्तो पात्र निभाउने हरेक कलाकारलाई लोभ हुन्छ । मैले पाएँ । खुसी छु ।’

त्यस्तै, अर्का अभिनेता अनुपविक्रम शाहीले इतिहासलाई हामीले पर्दामा उतार्ने प्रयास गरेको भन्दै दर्शकको साथ पाउनेमा आशावादी रहेको बताए । उनले भने, ‘इतिहासलाई हामीले पर्दामा उतार्ने प्रयास गरेको छौँ । हजुरहरुले साथ र सहयोग गर्नुहुने भन्ने पूर्णरुपमा विश्वास व्यक्त गर्दछु ।’

वैशाख २६ गतेबाट प्रदर्शन हुने यो चलचित्रलाई फुर्वा छिरिङ लामाले निर्देशन गरेका हुन्। फेरि टेल पिक्चर्सले निर्माण गरेको यो चलचित्र ‘जार’मा सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापालगायत कलाकारको मुख्य भूमिका छ ।

होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको चलचित्रको छायांकन सिक्किममा गरिएको छ । ‘जार’को कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् । सरवानन इलावार्सुको छायांकन रहेको चलचित्रमा अखिलेश राईको सम्पादन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *