निर्देशक मिलन तामाङको निर्देशन रहेको चलचित्र ‘माइतीघर’को अहिले धमाधम छायांकन भइरहेको छ। यो चलचित्रको छायांकन सेटबाट कलाकार केदार घिमिरे ‘माग्ने वुढा’को लुक्स सार्वजनिक गरिएको छ। सार्वजनिक लुक्समा केदार खाटमा बसेर मोबाइल हेरिरहेका छन् ।
यो तस्वीर झट्ट हेर्ने हो भने उनको लुक्स, गाउँको मुखियाको जस्तो देखिन्छ । तर, निर्माणपक्षले उनको लुक्सको विषयमा अहिले नै केही पनि बोलेको छैन ।
आगामी दशैंको फूलपातिलाई प्रदर्शन पक्का गरिसकिएको यो चलचित्रको छायांकन हाल म्याग्दीको ताकम गाउँमा भइरहेको छ । २० दिनसम्म ताकम गाउँमा र २० दिन दरबाङको तातोपानी क्षेत्रमा चलचित्रको छायांकन हुनेछ ।
तामाङ संस्कृतिको सेरोफेरोमा रहेर निर्माण गरिएको यो चलचित्रमा युवराज लामा, केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, वुद्दि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारहरूको अभिनय छ ।
रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङको लगानी रहेको यो चलचित्रलाई रोहित अधिकारी फिल्मस्को व्यानरमा निर्माण गरिएको हो । सुशन प्रजापतिको छायांकन रहेको चलचित्रको कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र नीरज कटुवाल हुन् ।