‘महाभोज’को ‘लालुमै’ गीतमा निश्चल, दया, खगेन्द्र,मलिका र अञ्जनाको नृत्य
२२ वैशाख २०८२ ५:०७
यहि जेठ १५ गतेबाट प्रदर्शन हुने चलचित्र ‘महाभोज’को गीत सार्वजनिक गरिएको छ। निर्माणपक्षले आइतबार काठमाडौँमा एककार्यक्रमको आयोजना गर्दै ‘लालुमै’ बोलको गीता सार्वजनिक गरेको हो ।
सार्वजनिक गीतमा चर्चित निर्देशक तथा अभिनेता निश्चल बस्नेत र गायिका अस्मिता अधिकारीको स्वर, हर्क साउदको शब्द, कोसिस क्षेत्री र केतन क्षेत्रीको सङ्गीत, पुष्कर खत्रीको एरेञ्ज र केतन क्षेत्रीकै रेकर्ड प्रोडक्सन रहेको छ ।
यो गीतको भिडियो मलिकाको बिहे समारोहको परिवेशमा आधारित छ, जहाँ चलचित्रका मुख्य कलाकार दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, र स्वयं गायक निश्चल बस्नेतको आकर्षक नृत्य देख्न सकिन्छ । कोरियोग्राफर सुनिल क्षेत्रीले गीतलाई रमाइलो र आकर्षक शैलीमा सजाएका छन् । गीतमा मोडल कमल सिंहले मलिका महतसँग बिहे गर्दै गरेको भूमिकामा विशेष उपस्थिति जनाएका छन् ।
यो चलचित्रले नेपाली समाजमा विद्यमान वर्ग सङ्घर्ष र पैसाले सिर्जना गर्ने पारिवारिक, सामाजिक तथा नैतिक दबाबको कथा भन्छ। यो गीतमा नृत्य गरेका निश्चलले निर्देशक दिनेश राउतसँगको पुनः सहकार्य उत्साहजनक रहेको बताए । सन् २०१२ मा एकै वर्ष चलचित्र निर्देशक सुरुआत गरेका निश्चल र दिनेशले यसअघि सन् २०१७ मा दिनेश निर्देशित चलचित्र ‘पर्व’मा सहकार्य गरेका थिए ।
क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त ब्यानरमा निर्माण भएको यो चलचित्र नेपालसहित विभिन्न देशहरूमा एकसाथ प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, र वीरेन्द्र सिंह कुशवाहलगायत कलाकारहरूको अभिनय देख्न पाइनेछ । चलचित्रका निर्माता हिमाल कडरिया हुन् भने कथा तथा पटकथा सुवेदीले तयार पारेका हुन् ।