‘के घर के डेरा २’को ट्रेलरलाई २३ घण्टामा १० लाख भ्युज

२१ वैशाख २०८२ ५:२५

निर्देशक दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा : घर नं २’को ट्रेलरले दर्शकको साथ पाएको छ । दर्शकले ट्रेलर मन पराउँदा युट्युबमा २३ घण्टामा १० लाख भ्युज प्राप्त भएको छ । साढे तीन सय कमेन्ट र ११ हजार लाइक आएको छ ।

शुक्रबार सार्वजनिक ट्रेलरले २४ घण्टा नपुगै युट्युबमा १० लाख भ्युज कटाएको हो । यसले ‘के घर के डेरा ः घर नं २’प्रति दर्शकको चासो देखिएको पुष्टि भएको निर्माणपक्षले बताएको छ ।

“हामीलाई ट्रेलरमार्फत जसरी दर्शकले माया दर्शाउनु भएको छ, यस्तै माया हलमा सिनेमाले पनि पाउने अपेक्षा गरेका छौँ,” निर्देशक खनालले भने । चलचित्र राम्रो बनेको र राम्रो टिमले मेहनत गरेकाले चलचित्रले दर्शकलाई निराश नबनाउने उनको भनाइ छ ।

एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा गेन्द्र लामिछाने, आर्यन सिग्देल, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, सज्जन श्रेष्ठ, गौरव विष्ट, शंकर आचार्य, रुविना घिमिरे (बाल कलाकार) लगायतको अभिनय छ ।

जेठ २ गतेदेखि प्रदर्शनमा आउने यो चलचित्रको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् । कृष्णबहादुर थापाको चलचित्रमा छायांकन रहेको छ । ‘के घर के डेरा: घर नं २’को निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् । कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *