‘के घर के डेरा: घर नं २’ सिक्वेल हो ?

७ वैशाख २०८२ ५:०८

दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्र ‘के घर के डेरा : घर नं २’ ’को विषयलाई लिएर दर्शकमा कौतुहलता देखिएको छ । यहि जेठ २ गतेबाट प्रदर्शन हुने यो चलचित्र ‘पशुपतिप्रसाद १’को झल्को टिजरले दिएको भनेर अहिले चर्चा भइरहेको छ ।

यो चलचित्र दुई वर्ष अगाडि रिलिज भएको ‘के घर के डेरा’को सिक्वेल हो अथवा नयाँ हो ? यसमा धेरैको जिज्ञासा छ । सो जिज्ञासालाई मेट्दै निर्देशक दीपेन्द्र के खनाल ‘के घर के डेरा : घर नं २’ सिक्वेल नभएको बताउँछन् । ‘यो के घर के डेराको सिक्वेल होइन । घर र डेराको कुरा सिनेमामा छ । तर, यो के घर के डेराको सिक्वेल होइन,” उनी भन्छन्, ‘यो बिलकुल नयाँ सिनेमा हो । नयाँ कथा हो । यो सिनेमाले नयाँ कथा लिएर आउँछ ।’

कमेडी बेसमा निर्माण भएको चलचित्र भन्दै निर्देशक दीपेन्द्र ‘के घर के डेरा : घर नं २’ सोसल ड्रामा भएको प्रष्ट पार्छन् । यो चलचित्रमा आफ्नो पहिचान झल्कने उनी बताउँछन् ।

यो चलचित्रको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् । उनको यो पहिलो स्क्रिप्ट हो । चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय छ ।

एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रमा कृष्णबहादुर थापाको छायांकन रहेको छ । ‘के घर के डेरा : घर नं २’को निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् । कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *