निर्देशक दीपेन्द्र के. खनाल निर्देशित चलचित्र ‘के घर के डेरा : घर नम्बर २’को फस्टलुकसंगै नया प्रदर्शन मिति घोषणा गरिएको छ। वितरक करण श्रेष्ठले फस्टलुक पोस्टर सार्वजनिक गर्दै चलचित्रको नयाँ मिति बारे जानकारी गराएका हुन् । अब यो चलचित्र जेठ २ गतेबाट प्रदर्शनमा आउनेछ।
यसअघि यो चलचित्र आगामी जेठ ९ गते प्रदर्शनमा आउने घोषणा गरिएको थियो। बुझिएअनुसार, यो चलचित्र एक हप्ता अगाडि नै प्रदर्शनमा आउनुको प्रमुख कारण ‘महाभोज’ हो । जेठ १५ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रका मुख्य कलाकार आर्यन सिग्देल र खगेन्द्र लामिछानेको ‘घर नम्बर २’मा पनि अभिनय छ ।
निर्माणपक्षले बिहिबार चलचित्रको ३ ओटा पोस्टर सार्वजनिक गरेको छ। पहिलो पोस्टरमा चलचित्रका मुख्य कलाकारहरु प्रस्तुत छन् । त्यस्तै, अर्को दुइओटा पोस्टरमध्ये एउटा पोस्टरमा निश्चल बस्नेतलाई झोला बोकेर न्याउरो अनुहार लगाएर दौडिदै गरेको देखाइएको छ भने अर्को एक पोस्टरमा खगेन्द्र लामिछाने पछाडि साइकलमा र अनि त्यसको अगाडि उपासना सिंह ठकुरीले हातमा किताव जस्तो देखिने केहि सामान बोकेर हिड्दै गरेको देख्न सकिन्छ।
ए प्लस इन्टरटेन्मेन्टसँग नटराज क्रियशनले सहकार्य गर्दै निर्माण गरेको यो चलचित्रमा चर्चित लेखक बुद्धिसागरको लेखन तथा कृष्णबहादुर थापाको छायांकन रहेको छ। शरद श्रेष्ठ, किरण महर्जन र राजीव श्रेष्ठ निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता युवराज कार्की हुन् ।
सोसल ड्रामा जनरामा निर्माण गरिएको यो चलचित्रमा आर्यन र खगेन्द्रसहित निश्चल बस्नेत, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे लगायतको अभिनय रहेको छ । चलचित्रलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्नेछन् ।