आगामी चैत २९ गते प्रदर्शनमा आउने तयारीमा रहेको मल्टिस्टारर एक्सन चलचित्र ‘पिताम्बर’को ट्रेलर सार्वजनिक गरिएको छ। मंगलबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै निर्माणपक्षले यो चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो।
३ मिनेट १४ सेकेण्ड लामो यो चलचित्रको ट्रेलरले यसको कथावस्तु र चरित्र चित्रणबारे प्रकाश पारेको छ । महिलामाथिको अन्याय र शोषणविरुद्ध ‘पिताम्बर’ नामक शीर्ष पात्रले खलपात्रविरुद्ध लड्ने लडाइको कथा यसले पेश गर्छ। खासमा यो चलचित्र एउटा बदलाको कथा हो ।
एक्सन, ड्रामा, रोमान्स र संवेदनाको कथा समेटिएको यो चलचित्रको केन्द्रमा महिलाविरुद्ध हुने अत्याचारको कथा समेटिएको छ । प्रदीप खड्का, सौगात मल्ल, प्रमोद अग्रहरि, दिब्यदेवको एक्सन अवतार आकर्षक देखिएको छ। सिंगो ट्रेलर प्रदीपको वरपर घुम्छ । दिब्या रायमाझीलाई उनको लभ इन्ट्रेस्टको रुपमा देखाइएको छ । एक्सन कोरियोग्राफी र भब्य प्रोडक्सन डिजाइन ट्रेलरको आकर्षक पक्ष हो ।
कृषा चौलागाईंको निर्देशन तथा विशाल चौलागाईंले निर्माण गरेको यो चलचित्रमा आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, कामेश्वर चौरासिया लगायतको शीर्ष भूमिका छ ।