आगामी वैशाख १२ गते प्रदर्शनमा आउने तयारीमा रहेको सस्पेन्स थ्रिलर चलचित्र ‘खेल’को ट्रेलर सार्वजनिक भएको छ । यस ट्रेलरमा प्रमुख कलाकारहरू सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य, समापिका गौतम, मिथिला शर्मा, सरिता गिरी, र भोलाराज सापकोटा प्रस्तुत छन्।
सार्वजनिक ट्रेलरमा शिक्षकले विद्यार्थीहरूलाई काठमाडौंको इतिहास पढाउँदै गरेका छन् भने केही अन्धविश्वास, रोगको प्रकोप र कालो जादुका विषयहरू पनि उठ्छन् । पुराना कलाकृति र शिलालेखहरूको दृश्यहरू छन् । साथीहरूबीचको मित्रता र असमझदारी दुवै देखाइएको छ । उनीहरू लुडो र अन्य खेलहरू खेलिरहेका छन् । अभिनेत्री सुरक्षा पन्तको अस्वाभाविक व्यवहार, हेना नगरकोटीको रहस्य सुल्झाउने प्रयास, र मोनिका थापा र समापिका गौतमको फरक गतिविधिले चलचित्रमा रहस्य र डरको आभास दिन्छ । ट्रेलरमा एउटा खेलपछि उत्पन्न हुने समस्याको चर्चा गरिएको छ ।
अनुराग प्रधान र आस्था श्रेष्ठले संयुक्त निर्देशन गरेको यो चलचित्र सिरुपाते कट्स प्रालिको ब्यानरमा निर्माण गरिएको हो । निर्माताहरू लुइसराज महर्जन र आशिषराज महर्जन हुन् भने सह-निर्माताहरू कुणालराज गुरुङ र रहिशराज महर्जन रहेका छन् । चलचित्रको कथा आशिषराज महर्जनले लेखेका हुन् भने पटकथा अभितेन्द्र र अनुराग प्रधानले तयार पारेका छन् ।
चलचित्रको छायाङ्कन रोशन राई र सञ्जय लामाले गरेका छन् भने सम्पादन आशिषराज महर्जनले गरेका छन् । चलचित्रको वितरण डिसिएनले गर्नेछ भने पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टले गरेको छ ।