फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शन हुने चलचित्र ‘लाज शरणम्’का कलाकार अर्जुन घिमिरे (पाँडे)ले आफूहरूको चार वर्षको मेहनतपछि चलचित्र बनेको बताएका छन् । उनका अनुसार, यो चलचित्रको कथा लेख्न थालेको करिब चार वर्ष लागेको हो ।
चलचित्रले कर्णालीका आम नागरिकको कथा भन्ने उनले बताए । उनका अनुसार कर्णालीमा आम नागरिकले भोगिरहेको कथा र उनीहरूको जीवनसँग खेलवाड गर्ने उपल्लो वर्गको कथा ‘लाज शरणम्’मा देख्न पाईन्छ ।
डार्क कमेडी फर्ममा कथा भन्ने उनले प्रष्ट पारेका छन् । “डार्क ह्युमर कमेडी फर्मममा कसरी हसाउँदा हसाउँदै गम्भीर कथा भन्न सकिन्छ भनेर हामीले यो चलचित्रको यो कथा भनेका छौँ,” अर्जुन भन्छन्, “हामीले हाम्रो करियरको यो लामो समय टेलिचलचित्रमार्फत दर्शकलाई हसायौँ । अब सिनेमामार्फत हसाउने प्रयास गर्दैछौँ ।”
‘सक्किगोनि’का अरु कलाकार फरकफरक लुक्स र चरित्रमा देखिए पनि ‘लाज शरणम्’मा अर्जुन भने पाँडेकै चरित्रमा देखिनेछन् । उनको यो चलचित्रमा छोटो तर प्रभाकारी चरित्र रहेको उनी बताउछन् ।
‘लाज शरणम्’मा अर्जुन कार्यकारी निर्माता पनि हुन् । कुमार कट्टेल (जिग्री) लेखक तथा निर्देशक हुन् । पोस्टर र टिजर दुवै दर्शकले मन पराउँदा सिनेमाले पनि मन जित्नेमा निर्माणपक्ष ढुक्क छ ।
चलचित्रमा सिताराम कट्टेल (धुर्मुस)सँगै मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अपर्ण थापा, रेणू योगी, कमलमणि नेपाल, माला लिम्बू, ‘सक्किगोनि’ टिमका कलाकार अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (क्रकोज), प्रियाना आचार्य (मुन्नी’लगायत कलाकार छन् ।
जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको चलचित्रमा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् भने सुदीप बरालले छायांकन गरेका हुन् ।