गोदावरी फिल्मस् प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा निर्माण भएको चलचित्र ‘जुनाः एक व्यथा’को नयाँ गीत सार्वजनिक गरिएको छ । चलचित्रको प्रदर्शन मिती नजिकिदै गर्दा निर्माणपक्षले मंगलबार ‘साली ज्यू’ सार्वजनिक गरेको हो ।
सार्वजनिक गीतमा पूर्णकला बीसीको स्वर, भीमबहादुर पौडेलको शब्द र बीबी अनुरागीको संगीत छ । हाँसो ठट्टा शैलीको यो गीत एक घरको आँगनमा खिचिएको छ ।
गीतको भिडियोमा बिनु कार्की, अस्मिता बस्नेत, नेहा गौतमले नृत्य गरेका छन् । बिषेशत विवाहमा महिलाहरूले नाँच्ने रत्यौलीलाई प्रस्तुत गरिएको गीतमा एक केटीलाई केटाको गेटअपमा पनि प्रस्तुत गरिएको छ ।
जीवन सेञ्चुरीको निर्देशन रहेको यो चलचित्रले बाल विवाह, अनमेल विवाह, महिला हिंसाको कथालाई उठान गरेको छ । चलचित्रमा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, अनिता बस्नेत लगायतका कलाकारहरुको अभिनय छ ।
दीपक प्रसाद घिमिरेको निर्माणमा तयार भएको चलचित्र आगामी माघको २५ गतेबाट प्रदर्शन हुँदैछ ।