सुयोग गुरुङको निर्देशनमा तयार भइरहेको चलचित्र ‘जेरीः अन टप’को हाल धमाधम छायांकन भइरहेको छ । यो चलचित्रको छायांकन सकिन अझै एक महिनाभन्दा धेरै समय लाग्ने यसको निर्माणपक्षले जनाएको छ ।
आउँदो बर्षको जेठ महिनामा प्रदर्शन गरिने यो चलचित्रको लागि काठमाडौंको एनएफडीसी स्टूडियोमा ४० लाखको सेट तयार गरिएको छ । चलचित्रका निर्माता सरोज न्यौपानेले दिएको जानकारी अनुसार, सगरमाथा नै चलचित्रमा देखाउनुपर्ने भएकाले सेट लगाइएको हो । ‘अब, सगरमाथामा नै गएर चलचित्र खिच्न सकिदैन । यसैले, हामीले महंगो सेट लगाएर सगरमाथ नै बनाएका छौं ।’ उनले भने ।
नायक अनमोल केसीको प्रमुख भूमिका रहेको यो चलचित्रको बजेट पनि महंगो भइसकेको छ । यो चलचित्र रिलिजसम्म बजेट ५ करोड भन्दा माथि पुग्नेछ । तर, यो लगानी सहजै फिर्ता हुनेमा निर्माणपक्ष ढुक्क देखिन्छ ।
चलचित्रमा अनमोलको साथमा केदार घिमिरे, भुवन केसी, जसिता गुरुङ, आँचल शर्मा, उषा खड्गी लगायतका कलाकारहरुको अभिनय छ ।