नेपाली चलचित्र क्षेत्रमा नयाँ रेकर्ड ब्रेक गरेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को सफलताको खुसीयाली साटासाट गरिएको छ । आइतबार काठमाडौंमा आयोजना गरिएको चलचित्रको खुसीयाली कार्यक्रममा एकसाथ दुई चलचित्र निर्माणको घोषणा गरिएको हो ।
निर्माता विनोद पौडेलले ‘रोल नम्बर १ र पूर्ण बहादुरको सारङ्गी २’ निर्माणको घोषणा गरेका हुन् । तर, नयाँ कम्पनी घोषणा गर्दै दुई चलचित्र निर्माणको जानकारी दिइएको हो ।
सेभेन सिज सिनेमाले निर्माण गर्ने ‘रोल नम्बर १’मा कार्यकारी निर्माताको रुपमा रमेश चौलागाईं छन् । यो चलचित्रमा जयन योञ्जनको कथा तथा निर्देशन रहने जनाइएको छ ।
महेश दवाडीको पटकथा तथा संवाद रहने यो चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत रहनेछ । शिवराम श्रेष्ठले खिच्ने यो चलचित्रलाई आउँदो बर्ष रिलिज गर्ने जानकारी दिइयो ।
त्यस्तै, चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी २’को बिषयमा कुनै जानकारी गराइएन । कार्यक्रममा यो चलचित्रलाई ऐतिहासिक रुपमा सफलता दिलाउन सहयोग गर्ने प्राविधिक, कलाकार, वितरक, पत्रकार र हल संचालकहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो ।
बक्स अफिसमा ४७ करोड भन्दा माथिको ग्रस कलेक्सन गरेको यो चलचित्रको विश्वव्यापी कमाइ ७५ करोड माथि रहेको निर्माणपक्षले जानकारी गराएको हो ।
‘पूर्ण बहादुरको सारङ्गी २’लाई २०८३ सालमा रिलिज गर्ने जनाइएको छ । प्राप्त जानकारी अनुसार यो चलचित्रमा प्रकाश सपूत र अञ्जना बराइली दोहोरिने सम्भावना छ ।