‘डोरी’को नयाँ पोस्टर रिलिज, केन्द्रमा अञ्जना

१३ माघ २०८१ ११:०७

अरुण लामाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘डोरी’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । चलचित्रको पात्र र कथावस्तुको झलक प्रस्तुत गर्ने यो चलचित्रको पोस्टर आइतबार सार्वजनिक गरिएको हो ।

सार्वजनिक पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरू प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अरुण लामा, अञ्जना बराइली, राज पौडेल, कविता आले, नूतन र राज थापालाई प्रस्तुत गरिएको छ । पोस्टरको केन्द्रमा अभिनेत्री बराइलीलाई पारम्परिक पोसाकमा मुस्कानसहित देखाइएको छ, जसले चलचित्रको सांस्कृतिक पृष्ठभूमिको सङ्केत गर्छ ।

चैत्र १५ देखि प्रदर्शन हुने यो चलचित्रको पोस्टरमा मुख्यतः दुई पात्रहरूलाई विशेष रोचक ढङ्गले प्रस्तुत गरिएको छ । एक पात्रले हास्यव्यङ्ग्य झल्काउने भावमा छ भने अर्को पात्र अत्यन्त आक्रोशित मुद्रामा देखिन्छ । यसले कथावस्तुमा हास्य, सङ्घर्ष, र गम्भीर भावनाहरूको मिश्रण रहेको सङ्केत दिन्छ । पोस्टर डिजाइन विजय बस्यालले गरेका हुन् ।

चलचित्रमा निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माताको रूपमा राज थापा, स्क्रिप्ट डाक्टर मनोज पण्डित हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *