यही माघको १६ गतेबाट प्रदर्शन हुने चलचित्र ‘एक्टरः टेक १’ विरुद्ध मुदा दर्ता भएको छ । गत माघको ४ गतेबाट प्रदर्शन भएको चलचित्र ‘एक्टर’का निर्माता सम्राट थापाले प्रतिलिपि अधिकार हनन भएको भन्दै जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता गरेका हुन् ।
‘एक्टर’का निर्माता सम्राट थापाले दायर गरिएको मुद्दामा ‘एक्टरः टेक १’ले एउटै नाम राखेको भन्दै नाम परिवर्तन गर्न माग गरिएको छ । साथै, यो चलचित्रको नाम परिवर्तन गरी ‘एक्टर’ नामको सम्पूर्ण अधिकार आफू दिनुपर्ने र यो विवाद साम्य नभएसम्म ‘एक्टरः टेक १’को प्रदर्शन रोक्का गर्न पनि थापाले माग गरेका छन् ।
थापाले दायर गरिएको मुद्दामा भनिएको छ–‘गैरकानुनी रुपमा प्रतिलिपि चोरी गरि निर्माण गरिएको चलचित्र माघको १६ गतेमा प्रदर्शन नगर्नु नगराउनु तथा अन्य अर्को व्यवस्था नभएसम्मका लागि उक्त चलचित्र कुनै पनि विधि, पद्धति तथा कहीँ कतै प्रदर्शन नगर्नु नगराउनु भनि रोक्काको आदेश समेत जारी गरीपाउँ ।’
‘एक्टरः टेक १’ प्रदर्शन हुन ४ दिन बाँकी रहदा थापाले मुद्दा दर्ता गराएका हुन् । चलचित्र विकास बोर्डलाई समेत विपक्षी बनाएर थापाले मुद्दा दर्ता गरेका हुन् ।
राजन भुसालको निर्देशनमा तयार भएको चलचित्रमा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजवल्लभ कोइराला लगायतका कलाकारहरुको अभिनय छ ।