चलचित्र ‘एक्टर: टेक वन’ले नेपाली चलचित्र क्षेत्रमा एक फरक दृष्टिकोण प्रस्तुत गर्ने दाबी यसका निर्देशक राजन भुसालले गरेका छन् । भुसालले चलचित्रको प्राविधिक सशक्तता र कथात्मक गहनतालाई प्राथमिकतामा राख्दै यसलाई नेपाली चलचित्र उद्योगका लागि विशेष बनाउन प्रयास गरेको बताए ।
निर्देशक भुसालका अनुसार, चलचित्रलाई केवल कथा भन्ने माध्यमको रूपमा मात्र नहेरी प्राविधिक रूपमा पनि सशक्त बनाउने प्रयास गरिएको छ । उनी भन्छन्, ‘चलचित्र भनेको कथा वाचन मात्र नभई प्राविधिक पक्षले पनि दर्शकलाई प्रभाव पार्न सक्नुपर्छ । यो चलचित्रले प्राविधिक रूपमा बलियो मान्यता कायम राख्नेछ ।’
चलचित्रको एक महत्त्वपूर्ण भूमिकामा रहेका अभिनेता राजबल्लभ कोइरालाले करिब १० वर्षपछि नेपाली चलचित्रमा पुनरागमन गर्दैछन् । यस चलचित्रमा उनको अभिनयलाई भुसालले खास उपलब्धिका रूपमा हेर्छन् । केही समयदेखि नेपाली चलचित्र क्षेत्रमा नदेखिएका कोइरालाले ‘एक्टर: टेक वन’मा अभिनय गर्नुलाई दर्शकका लागि रोमाञ्चक पुनर्मिलनको अवसर मानिएको छ ।
‘राजबल्लभ कोइरालाले यसअघि पनि फर्कने प्रयास गर्नुभएको थियो । तर, उहाँले आफूलाई उपयुक्त लाग्ने भूमिका र चलचित्रको पर्खाइ गर्नुभएको थियो । यो चलचित्रले उहाँलाई त्यो अवसर दिएको छ,’ भुसालले भने ।
चलचित्रको ट्रेलरमा अभिनेता प्रदिप खड्काको सङ्घर्ष र कलाकार बन्ने सपनाको चित्रणले दर्शकलाई आकर्षित गरेको छ । यसले सफलता प्राप्त गर्ने प्रक्रियामा अभिनेताले कठिनाइको सामना गर्नुपरेको देखाउँछ । यद्यपि, यो प्रस्तुतीकरणले कलाकारिताप्रति गलत धारणा सिर्जना गर्न सक्ने प्रश्नलाई भुसालले खण्डन गरे । ‘यो चलचित्रले कलाकारितालाई फरक दृष्टिकोणबाट प्रस्तुत गर्न खोजेको हो । ‘ड्रामा थ्रिलर’ श्रेणीमा रहेको यो चलचित्रले कलाकारहरूको व्यक्तिगत वा पेसागत छवि बिगार्ने काम गर्नेछैन ।’ भुसालले प्रस्ट्याए ।
निर्देशक भुसालको दृढ विश्वासको आधारमा ‘एक्टर: टेक वन’ले प्राविधिक र कथात्मक रूपमा नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा लैजान सक्ने अपेक्षा गर्न सकिन्छ । चलचित्रप्रति दर्शकको चासो र उत्सुकता बढ्दै जाँदा, माघ १६ लाई सबैले प्रतीक्षाको दिनको रूपमा हेरेका छन् ।