बुद्धिको ‘कुस्ती’मा दिकिला शेर्पाको इन्ट्री

९ माघ २०८१ ७:२०

कलाकार बुद्धि तमाङले निर्माण गर्न लागेको पहिलो चलचित्र ‘कुस्ती’मा दिकिला शेर्पाको इन्ट्री भएको छ । कलाकारको लाइनअप रोचक बनिरहेको यो चलचित्रको महत्वपूर्ण भूमिकाको लागि भारतीय रियालिटी शो ‘स्प्लिट्सभिल्ला’ सिजन ५ बाट चिनिएकी दिकिलाको प्रवेश भएको हो ।

अनिल योञ्जनको निर्देशनमा बन्न लागेको यो चलचित्रको मुख्य भूमिकामा अभिनेता धीरज मगर र अभिनेत्री मिरुना मगर यसअगाडि नै फाइनल भइसकेका छन् । दिकिला यतिबेला यो चलचित्रको वर्कसपमा छिन् ।

यो चलचित्रलाई लिएर दिकिला निकै उत्साहित देखिएकी छन् । ‘यो मेरो पहिलो चलचित्र भएकाले पनि उत्साहित छु । सुहाउँदो चरित्र, सिनियर कलाकार, भद्र र सालिन टिमले मलाई अभिनेत्री बन्न प्रेरित गर्‍यो । चरित्रलाई न्याय गर्न म सक्दो मिहिनेत गर्नेछु ।’ उनले भनिन् ।

यो चलचित्रले एकअर्कालाई अगाध माया गर्ने तथा अलग स्वभावका कारण एकसाथ बस्न पनि नसक्ने एउटा जोडीको प्रेमकथा भन्नेछ । आगामी फागुनबाट छायांकन सुरु हुने यो चलचित्रलाई २०८२ को भदौमा प्रदर्शन गर्ने लक्ष निर्माणपक्षको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *