महोत्सवमा ‘रंगी’को प्रचार गर्दै सलोन र दुर्गेश

६ माघ २०८१ ५:२७

आउँदो फागुन २ गतेबाट रिलिज हुने चलचित्र ‘रंगी’को गीत ‘छ भने माया’ अहिले चर्चामा छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्रको प्रचारका लागि सलोन र ‘छ भने माया’का गीतकार तथा संगीतकार दुर्गेश थापा महोत्सव दौडाहामा छन् ।

सलोन र दुर्गेशले हालैमात्र बर्दियाको बासगढी महोत्सवबाट चलचित्रको प्रचारप्रसार सुरु गरेका छन् । गायकगायिका तथा चलचित्रका कलाकारलाई महोत्सव आफ्नो चलचित्र तथा गीतको प्रचारप्रसार गर्ने उत्कृष्ट प्लेटफर्म बनिरहँदा सलोनले पनि यो अवसरलाई गुमाउन चाहेनन् ।

सलोनका अनुसार महोत्सवमा दुर्गेशले ‘छ भने माया’ गाउँदा सलोन भने नाँचेका थिए । उनले आफू पहिलो पटक निर्माताका रुपमा दर्शकमाझ आउन लागेकाले आफ्ना अघिल्ला चलचित्रहरुजस्तै ‘रंगी’लाई पनि माया गरिदिन आग्रह गरे । ‘महोत्सवमा सयौं दर्शकमाझ चलचित्रको प्रचारप्रसार गर्न पाउँदा निकै खुशी लाग्दो रहेछ । दर्शकले हाम्रो चलचित्रलाई राम्रो साथ दिनुहुनेछ भन्नेमा म ढुक्क छु’, उनले भने ।

सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहेको चलचित्र ‘रंगी’ सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको हो । बाबुछोरीको कथा बोल्ने चलचित्रमा सलोन बस्नेत, आयुषी ढकाल, नम्रता श्रेष्ठसँगै दिलीप रायमाझी, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको पनि अभिनय छ ।

सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमको निर्माण रहेको चलचित्रमा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, बन्दे प्रसादको सम्पादन रहेको चलचित्रलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *