आउँदो फागुन २३ गते रिलिज हुने चलचित्र ‘होस्टेल ३’को गीत ‘टिक टिक टिक’ सार्वजनिक गरिएको छ । शुक्रवार सार्वजनिक गीतमा चलचित्रका सबै प्रमुख कलाकारहरूको आकर्षक नृत्य रहेको छ । गीतमा अलमोडा राणा उप्रेतीको शब्द, सङ्गीत र स्वर रहेको छ । यसमा अलमोडासँगै सन्तोष राणाले र्याप भोकल दिएका छन् ।
‘टिक टिक टिक, जाने समयसँग सिक साथी, ठिक ठिक ठिक, एक दिन हुन्छ सबै ठिक’ – यो गीत रचनाले कलेज जीवनका उतारचढावलाई सङ्गीतमय रूपमा उजागर गर्दै विविध पृष्ठभूमिका साथीहरूबीचको बन्धुत्वलाई मजबुत रूपमा प्रस्तुत गरिएको छ । गीतमा चार मुख्य अभिनेताहरू पारस बम (कुलब्वाई), रिहान गिरि, आशिष घिमिरे, र पदम तामाङ तथा अभिनेत्रीहरू सिम्रन पन्त, हेना नगरकोटी, र समा पराजुली फिचर्ड छन् ।
चलचित्रको निर्देशन सशान कँडेलले गरेका हुन् भने स्क्रिप्ट माधव शर्माले लेखेका छन् । कथा निर्देशक कँडेलकै हो । यसमा क्याम्पस जीवनका सङ्घर्ष, मित्रता, र रमाइलो क्षणहरूको कथा रहेको छ । चलचित्रमा उमर खान, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष् पुरुषलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।
चलचित्र सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गरेको हो । निर्माताहरू सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी तथा कार्यकारी निर्माता शङ्कर कोइराला हुन् ।