दया र आँचलको ‘दुखी आत्मा’मा समावेश ‘ब्रेकअप कविता’
३ माघ २०८१ ८:५५
आगामी फागुनको २ गते प्रेम दिवसको अवसर पारेर सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्र ‘दुखी आत्मा’मा समावेश ‘ब्रेकअप कविता’ सार्वजनिक गरिएको छ ।
कवि श्रवण मुकारुङले लेखेका १० वटा कविताहरु यो चलचित्रमा समावेश छन् । जसमध्ये, पहिलो कविता ‘माया, तिमी यसलाई एक घटना संझ । विन्ती यसलाई दुर्घटना नसंझ । संझ सायद, यसरी छुट्नु नै भएको थियो भेट हाम्रो ।’ सार्वजनिक गरिएको हो ।
सार्वजनिक कवितामा दयाहाङ राइको स्वर समावेश छ भने भिडियोमा दया नायिका आँचल शर्माको अगाडि बसेर कविता सुनाइरहेका देख्न सकिन्छ । आँचल उनले सुनाएको कविता ध्यान दिएर सुनिरहेकी छिन् ।
क्लक वर्क क्रियशनको व्यानरमा निर्माण भएको यो चलचित्रका निर्माता हिमाल कडरिया हुन् । सुदिप बराल कार्यकारी निर्माता रहेको चलचित्रमा आलोक शुक्लाको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।
दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको यो चलचित्रलाई निर्माणपक्षले एडल्ट ड्रामा भनेको छ । चलचित्रमा अनुप विक्रम शाही, वुद्दि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले लगायतका कलाकारहरुको अभिनय छ ।