विमल सुवेदीले निर्देशन गरेको चलचित्र ‘हिउँको गीत’को छायांकन सकिएको छ । नायिका वर्षा राउत र नायक जोयस पाण्डेको प्रमुख भूमिका रहेको यो चलचित्रको अमेरिकामा छायांकन सम्पन्न भएको हो । चलचित्रको ओहायो राज्यको क्लिभल्याण्ड शहरमा हलिउड चलचित्रको छायांकन गरिने सुविधा सम्पन्न स्टुडियोमा छायांकन भएको हो ।
पेन्सलभेनिया राज्यको पिट्सबर्ग शहरमा अन्तिम दृश्यको छायांकन गरेसँगै यो फिल्मको सम्पादन सुरु भएको छ । जोयश पाण्डेसँग संयुक्त लेखनमा तयार भइरहेको फिल्मलाई गरेका हुन् । फिल्ममा वर्षासँगै जोयसको पनि अभिनय छ ।
नेपाली भाषी भुटानी तथा नेपाली आप्रवासीको कथा समेटिएको चलचित्रमा नेपाल र अमेरिकामा जन्मे हुर्केका फरक फरक पुस्ताका सपना, आकांक्षा र संघर्षको कथा प्रस्तुत गरिएको निर्माण समूहले जनाएको छ ।
एउटा परिवार तर फरक पुस्ता, परिवेश र अनुभव बोकेका सदस्यमार्फत चलचित्रले समग्र नेपाली भाषी भुटानीको आफ्नै देशबाट लखेटिनुअघि सरकारबाट योजनाबद्ध बर्बर यातनादेखि लखेटिएपछि नेपालको शरणार्थी शिविर र अमेरिका आइसकेपछि परिवारका फरक फरक सदस्यमा देखिने संरचनात्मक र मनोवैज्ञानिक असरको कथा यो चलचित्रले पेश गर्छ ।
‘यो चलचित्र नेपाली भाषी भुटानीको पहिलो दृश्यात्मक ऐतिहासिक दस्तावेजसमेत हुनेछ,’ निर्देशक सुवेदी भन्छन्, ‘बच्चा अवस्थादेखि पढेका, सुनेका र कथा लेखनका विभिन्न चरणमा नेपालको शरणार्थी क्याम्पदेखि नाटक निर्माणका क्रममा भेटेका सयौं व्यक्तिहरूसँग भेटेर सुनेको अनुभवको आधारमा यो चलचित्र तयार भएको हो । यसले भुटानी नेपालीको मात्र कथा भन्दैन, अमेरिका आएका संसारका आप्रवासीको कथा समेट्छ ।
नेपाली र अंग्रेजी गरी दुई भाषामा खिचिएको यो चलचित्रमा जिया कुइँकेल खतिवडा, करुण कुइँकेल, कौशिला खनाल कर्माचार्य कार्यकारी निर्माता, मनोरथा खनाल, राकेश भट्टराई, रमेश लुइँटेल र पुण्य कुइँकेल सह–निर्माता, नोरथ खनाल, राकेश भट्टराई, रमेश लुइँटेल र पुण्य कुइँकेल सह निर्माताका रुपमा रहेका छन् । ह्याप्पी होम स्टुडियोजको प्रस्तुतिमा जोयश पाण्डेय, विमल सुवेदी र समुन्द्र राज घिमिरेले निर्माण गरेका हुन् ।
यो चलचित्रमा वर्षा र जोयशबाहेक पूजा चन्द, आकाश खतिवडा, ईशिर कर्मचार्य,थोमस किथ स्कट, केदार उप्रेती, आर. बी. खड्का, अर्जुन रसाइली, समीर रेग्मी, मनोरथ खनाल, नीलम खनाल, इशान कर्माचार्य, कृस्टल पराजुली, एन्जेलिना पराजृुली, जोशन रामदाम, निर्मल खनाल,विष्णु रामदाम, मिसेल स्कट, आयुष भट्टराई, नवीन खनाल, जोशिका रामदाम आदिको अभिनय रहेको छ ।