निर्देशन अरुण लामाले लेखन तथा निर्देशन गरेको चलचित्र ‘डोरी’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ । मंगलबार यो चलचित्रको पोस्टर सार्वजनिकसँगै आगामी चैत्र १५ देखि देशभरका सिनेमा घरहरूमा प्रदर्शन हुने घोषणा गरिएको हो ।
पोस्टरमा प्रस्तुत पात्रको शक्तिशाली हाउभाउले दर्शकलाई कथामा समावेश हुने सङ्घर्ष, रहस्य, र गहन भावनालाई सङ्केत गर्छ । चलचित्रका कलाकार वीरेन्द्र सिंह कुशवाहाको क्रोधित अनुहारले कथाको द्वन्द्व र चरित्रहरूको गहिराइलाई प्रतिनिधित्व गरेको छ । विजय बस्यालले डिजाइन गरेको पोस्टरले चलचित्रको कथावस्तु र भावनात्मक गहिराइको झल्को दिने प्रयास गरेको छ ।
चलचित्रमा प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अरुण लामा, अञ्जना बराइली, वीरेन्द्र सिंह कुशवाहा, राज पौडेल, कविता आले, राज थापा, नूतन लगायतको अभिनय रहेको छ ।
चलचित्रमा निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माताको रूपमा राज थापाले जिम्मेवारी सम्हालेका छन् । ‘डोरी’मा स्क्रिप्ट डाक्टर मनोज पण्डित हुन् भने मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत र सम्पादन मिलन श्रेष्ठको रहेको छ ।