चलचित्र ‘खेल’को रिलिज मिति तय गरी अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । यो चलचित्रको पोस्टर सार्वजनिक गर्दै २०८२ सालको वैशाख १२ गते रिलिज हुने घोषणा गरिएको हो ।
अभिनेत्री सुरक्षा पन्तको प्रमुख अभिनय रहेको यो चलचित्रमा पन्तसँगै हेना नगरकोटी, मोनिका थापा, समापिका गौतम, र निकिता आचार्य, भोला राज सापकोटा, मिथिला शर्मा, सरिता गिरी, किरण श्रेष्ठ, सुहानी खड्का, भवन घिमिरे, सुजन घिमिरे लगायतको पनि अभिनय रहेको छ ।
सार्वजनिक पोस्टरले रहस्य र थ्रिलरले भरिएको विद्यालय जीवनका किशोरीको कथा प्रस्तुत गर्ने सशक्त दृश्यात्मक झल्को दिन्छ । अभिनेत्री पन्त पोस्टरको केन्द्रमा छन्, जसले उनको चरित्रको महत्त्वलाई सङ्केत गर्दछ । पोस्टरको पृष्ठभूमिमा देखिएको पाँच कोणीय तारा र अन्धकार वातावरणले चलचित्र रहस्य, डर, वा थ्रिलर विधासँग सम्बन्धित रहेको देखाउँछ ।
अनुराग प्रधान र आस्था श्रेष्ठले संयुक्त निर्देशन गरेको यो चलचित्रले नेपालको लोककथा, परम्परा र अध्यात्मलाई थ्रिलर र सस्पेन्स माहौलसँग जोडिएको कथा पेश गर्छ । चलचित्रमा चार जना साथीहरूको कथा रहेको छ, जसलाई आफ्नै विगतको एक भयानक घटनाले पछ्याइरहेको हुन्छ । उनीहरूले डरलाग्दा र अलौकिक घटनाहरूको सामना गर्नुपरेको हुन्छ । यसमा कुनै पनि खेललाई निष्ठापूर्वक नखेल्दा हाम्रो जीवनमा कस्तो हानी हुन्छ भन्ने दर्साउन खोजिएको छ ।
सिरुपाते कट्स प्रालिले निर्माण गरेको चलचित्रका कार्यकारी निर्माता लुइसराज महर्जन हुन् भने निर्माता आशिषराज महर्जन भने सह निर्माताहरू कुनालराज गुरुङ र रहिशराज महर्जन हुन् ।
चलचित्रको कथा आशिषराज महर्जनले तयार पारेका हुन् । पटकथा अभितेन्द्र र अनुराग प्रधानले लेखेका छन् भने संवाद विष्णु गैरेले लेखेका छन् । चलचित्रमा रोशन राई र सञ्जय लामाको छायांकन, आशिषराज महर्जनको सम्पादन छ ।