अभिनेता हरिवंश आचार्यको प्रमुख भूमिका रहेको चलचित्र ‘भूठान’को प्रदर्शन मिति घोषणा गरिएको छ । यो चलचित्र आगामी बैशाख १२ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको हो ।
अंग्रेजी नाम दिइएको ‘द वर्ल्ड्स ह्याप्पिएस्ट म्यान’ साग अफट्रा अन्तर्गत रहेर बनेको पहिलो नेपाली चलचित्र हो । यो चलचित्रमा हलिउडका केही प्राविधिकले पनि काम गरेका छन् ।
निर्माणपक्षका अनुसार यो चलचित्रमा अभिनेता हरिवंशलाई अहिलेसम्म नदेखिएको अवतारमा देख्न पाइनेछ । चलचित्रमा आचार्यसहित दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द, ऋचा घिमिरे, जोएस पाण्डे, ,अदिती प्याकुरेल, टम क्रेन, विमल सुवेदी र हलिउड अभिनेता ब्रुस डर्नको अभिनय छ ।
चलचित्रलाई विश्वभरिका हलमा बलिउड र हलिउडकै वितरकको संग्लग्नतामा एकै मितिमा प्रदर्शन गर्नको लागि पनि तयारी भैरहेको छ । चलचित्रले भुटानदेखि भारत, नेपाल हुँदै अमेरिकामा बसोवास गरिरहेका भुटानीको देशप्रेम र थातथलो छोड्न पर्दाको कथा र आफनो जराको खोजको कथा पेश गर्छ । चलचित्रको छायांकन अमेरिकामै केही महिनाअघि सम्पन्न भएको थियो ।
राजेन्द्र ठकुराठी, अमिताभ जोशी, अविरल थापा, सुशांक मैनाली र किर्तना बाँसकोटाले निर्माण गरेको यो चलचित्रका कार्यकारी निर्मातामा विकाश भिटो अधिकारी, एलएन अधिकारी, कौशिला खनाल कर्माचार्य, रमेश भट्ट, अपार श्रेष्ठ, भुवन प्याकुरेल छन् । चलचित्रलाई ठकुराठी ब्रोज, भ्याकेन्ट लाईट, एभरेष्ट ईन्टरटेनमेन्ट अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन् र अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गरेका हुन् । नेपालमा यसको वितरण आरआर फिल्मस् प्रोडक्सनले गर्नेछ ।