भोली शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘कार्साङ’को प्रिमियर सम्पन्न गरिएको छ। बुधवार बेलुका आयोजना गरिएको प्रिमियरमा यो चलचित्रलाई उत्साहजनक प्रतिक्रिया मिलेको हो ।
प्रिमियरमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, निर्देशक तथा कलाकार दीपाश्री निरौला, निर्देशक दीपेन्द्र के खनाल, वितरक, निर्माता तथा निर्देशक अशोक शर्मा, बसन्त निरौला, कलाकार केदार घिमिरे ‘माग्ने बुढा’, हास्य कलाकार किरण केसी (रातामकै), कवि विप्लव प्रतीक, कलाकार अनुप बराल, मनिष राउत, गायक कमल खत्री, मेलिना मैनाली लगायत कलाकारको उपस्थित थियो ।
अभावमा बाँचिरहेको व्यक्ति आफ्नौ गाउँ, समाज र आफन्तबाट कसरी तिरस्कृत हुन्छन् भन्ने यो चलचित्रले देखाएको छ । अभाव र दुःखमा बाँच्ने व्यक्तिलाई आफ्नो संस्कार जोगाउन कति कठिन छ भन्ने यो चलचित्रले देखाउने भन्दै यो बुझ्न र अनुभूत गर्न पनि ‘कार्साङ’ हेर्नुपर्ने प्रतिक्रिया प्रिमियरबाट आएको छ ।
चलचित्र हेरेपछि केदार घिमिरेले ‘कार्साङ’ अत्यन्तै राम्रो बनेको प्रतिक्रिया दिए । यम शेर्पाले निर्देशन गरेको यो चलचित्र ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित रहेको छ ।
चलचित्रमा दयाहाङ राई, सिर्जना निङलेखुसँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय रहेको छ । चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् ।