‘बलिदान’ छायांकनका लागि ४२ फिट अग्लो विशाल मूर्ति निर्माण

२१ पुष २०८१ ६:५४

चलचित्र ‘बलिदान’को छायांकनका लागि ४२ फिट अग्लो मुर्ति तयार पारीएको छ । चलचित्रको कथा अनुरूप, दानवी प्रवृत्तिको अन्त्य गर्ने देवी कालीको चण्डी स्वरूपलाई दर्साउने ४२ फिट अग्लो विशाल मूर्ति निर्माण गरिएको हो ।

यो चलचित्रका निर्देशक सन्तोष सेनले नेपालभर खोजी गर्दा पनि उपयुक्त मूर्ति नभेटेपछि, निर्माण टोली भारतको कलकत्तामा गएर त्यहाँका कुशल कालिगडहरूसँग मिलेर यो मूर्ति तयार गरिएको बताए ।

मूर्ति निर्माणको यो यात्रा चुनौतीपूर्ण रहेता पनि मोरङको हसिना सिमसारस्थित बुढासुब्बा मैदानलाई भने यसले नयाँ पहिचान दिएको छ । चलचित्रको छायाङ्कन नसकिँदै ‘काली चौर’का रूपमा परिचित यो स्थान चर्चित स्थल बनेको छ । यस क्षेत्रमा निर्माण गरिएको मञ्च र २०० भन्दा बढी स्टलहरूले स्थानीयलाई रोजगारीका अवसर प्रदान गर्नुका साथै एउटा मिनी बजार सञ्चालनमा ल्याएको निर्देशकले जनाए ।

सेनका अनुसार, ‘बलिदान’को छायांकन लगभग पूरा भइसकेको छ । अब सम्पूर्ण छायांकन सकिएपछि टिजरसहित चलचित्रको रिलिज मिति औपचारिक रूपमा घोषणा गरिने उनले बताए । चलचित्रको एक्सन दृश्यहरूलाई थप रोमाञ्चक बनाउन दक्षिण भारतीय चर्चित एक्सन निर्देशक स्टन्डर साम को नेतृत्वमा ३० जनाको टोलीले अत्याधुनिक प्रविधिको प्रयोग गरिरहेको छ ।

आसुसेन फिल्म्स प्रा.ली.को प्रस्तुति रहेको यस चलचित्रमा पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी सह-निर्माताको भूमिकामा छन् । ‘बलिदान’ को कथा नेपालको सार्वभौम भूमिमा भइरहेको अन्याय र समाजका तथाकथित नाइकेहरूको विरुद्धको सङ्घर्षमा आधारित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *