ब्लकबस्टर ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले चलचित्र ‘कोशेढुंगा’ निर्माणको घोषणा गरेका छन् । निर्देशक पौडेलले चलचित्रको थिम पोस्टर सार्वजनिक गर्दै निर्माणको घोषणा गरेका हुन् ।
घोषणासँगै सार्वजनिक थिम पोस्टरमा घुरमैलो बिहानीलाई पृष्ठभूमीमा राखेर पहाडलाई हेरिरहेकी एक महिला उभिएछिन् । माथि डाँडामा उभिएकी उनको अगाडि अग्लो रुख र पहाडी शैलीको घर छ । यो पोस्टरले ‘कोसेढुंगा’ सोसल ड्रामा भएको प्रष्ट हुन्छ ।
नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा प्रेविल कँडेल र हरि महतको लगानी रहने छ भने दिनेश खड्का कार्यकारी निर्माता रहेका छन् । बाबु श्रेष्ठको डीओपी रहने चलचित्र सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन् । चलचित्रमा संगीत रिदम कँडेल र आषिश अविरलको रहनेछ । यो चलचित्र २०८२ मा रिलिज हुने निर्माणपक्षले जनाएको छ ।
चलचित्रको मुख्य भूमिकामा को-को रहनेछन् त्यो भने निर्माण टिमले जानकारी दिएको छैन ।