२४ घण्टा नपुग्दै ट्रेण्डिङको दुई नम्बरमा ‘कार्साङ’ ट्रेलर

१८ पुष २०८१ १३:३५

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘कार्साङ’को ट्रेलर ट्रेण्डिङमा आएको छ । यो चलचित्रको ट्रेलर सार्वजनिक भएको २४ घण्टा नपुग्दै ट्रेण्डिङको दुई नम्बरमा आएको हो ।

मुभी सेक्सनको दुई नम्बरमा रहेको ट्रेलरले अहिले दर्शकको माया पाइरहेको छ । दया र जितुको अभिनयको तारिफ गर्दै दर्शकले अब शेर्पा समुदायको कथा नजिकबाट नियाल्न पाउने बताइरहेका छन् । ट्रेलरले पाएको यो माया चलचित्रले पनि पाउने अपेक्षा निर्माणपक्षको छ ।

ट्रेलरमा पात्रको अभाव, झाँक्री विद्यामा समाजले गर्ने विश्वास, सामाजिक परम्परा, आर्थिक कारोबार, प्रशासन, समाजले गर्ने बहिष्कार, रिस, द्वेष र समाजको निर्णयले परिवारमा देखिने विचलन र फाटो देखाउँदै ट्रेलरले चलचित्रको मुख्य पात्रले स्वाभिमानका लागि गर्ने संघर्ष र सम्झौता देखाएको छ ।
पौषको २६ गतेबाट रिलिजमा आउन लागेको यो चलचित्रमा दयाहाङ राई, जितु नेपाल, दिया मास्के, वुद्दि तामाङ, रविन्द्र झा, प्रेम लोप्चन, कविता आले लगायतका कलाकारहरुको अभिनय छ ।

यम शेर्पाको कथा, पटकथा, संवाद र निर्देशन रहेको चलचित्रमा पुरुषोत्तम प्रधानको लगानी र छायांकन छ । चलचित्रमा विरेन्द्र शाही लाइन प्रोड्यूसर, गोविन्द बोहरा सह–निर्माता, भुपेन्द्र अधिकारी सम्पादकको रुपमा छन् ।

झाँक्री विद्यामा समाजले गर्ने विश्वास, सामाजिक परम्परा, आर्थिक कारोबार, प्रशासन र समाजले गर्ने बहिष्कारलाई समेटेको चलचित्रमा मनोज थापा मगर, एसडी योगी, विश्व दोङ र अस्मान लोप्चनको संगीत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *