नयाँ वर्षमा कन्दराले ल्यायो ‘हुनेछ: द सङ्ग अफ होप’
१७ पुष २०८१ ७:३९
कन्दरा ब्याण्डले अङ्ग्रेजी नयाँ वर्ष सन् २०२५ को अवसरमा नयाँ गीत ‘हुनेछ: द सङ्ग अफ होप’ सार्वजनिक गरेको छ । ब्याण्डको साङ्गीतिक यात्रामा अर्को सुनौलो अध्याय थप्ने अपेक्षा गरिएको यो म्युजिक भिडियो प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेका हुन् ।
सकारात्मक समाज निर्माण, सम्भावना, समृद्धि र स्थायित्वबारे प्रधानमन्त्री ओलीका अभिव्यक्तिहरूलाई समेटेर तयार पारिएको यो गीत राष्ट्रभक्तहरूका लागि विशेष सान्दर्भिक छ । यसले देशप्रतिको प्रेम, राष्ट्रिय एकता र समृद्ध नेपालको सपनालाई जीवन्त राख्न, हामीलाई आशा, एकता, परिवर्तन, साहस र त्यागका मूल्यहरूलाई आत्मसात् गर्न, सामना गरिरहेका कठिन परिस्थितिहरू, नकारात्मक सोच र अन्धकारलाई पछाडि छोडेर उज्यालो भविष्यको सपना देख्न यो गीतले प्रेरित गर्छ ।
‘हुनेछ: द सङ्ग अफ होप’मा शब्द तथा सङ्गीत ब्याण्डका ड्रम वादक सुनिल थापाको रहेको छ । गीतको भिडियो निर्देशन र कथा केदार भुसालले तयार पारेका हुन् । सेटमा क्यामेरा सञ्चालन नवीन थापा र दीपेश केसीले गरेका छन् भने मोन्टाज र बी-रोल्समा यज्ञ ज्ञानवाली र दीपेश केसीको सहयोग रहेको छ । सम्पादन मधु सन्जेलले गरेका छन् ।
गिटार, मिक्सिङ, र मास्टरिङ देव लामाले गरेका छन्, बासमा पङ्कज झा, किबोर्डमा उमेश थापा, र पर्कसनमा अविनाश गायकले योगदान दिएका छन् । गीतको एरेन्ज र गिटार वर्क हरि महर्जनले गरेका छन् ।
कन्दरा ब्याण्डका ‘लेककी हे माया’, ‘बिदेसिएर गइन् उनी’, ‘चञ्चले कान्छीको’, ‘भेडी गोठैमा’, ‘हङकङ पोखरा’, ‘तगारोमा रुमाल’ र ‘बिचरा म’ जस्ता गीतहरू नेपाली सङ्गीतमा बहुचर्चित छन् । कन्दराको वर्तमान लाइनअपमा भोकलमा विवेक श्रेष्ठ, ड्रम्समा सुनिल थापा, लिड गिटारमा देव लामा, बास गिटारमा पङ्कज झा, मादलमा अविनाश गायक, र किबोर्डमा उमेश थापा छन् । भोकलिस्ट श्रेष्ठ र ड्रम्स वादक सुनिल थापा ब्याण्डका संस्थापक सदस्य हुन् ।