आगामी पुस २६ गतेबाट प्रदर्शन हुने चलचित्र ‘कार्साङ’को यतिबेला प्रचार प्रसारलाई तिव्र पारीएको छ । प्रचारलाई तिव्रता दिदै यो चलचित्रका कलाकार तथा निर्देशकले ‘कार्साङ’को गहन विषयमा दर्शकको मन छुने चलचित्र भएको बताए ।
चलचित्रका प्रमुख पात्र दयाहाङ झाँक्रीको भूमिकामा छन् । उनले ‘झाँक्री विद्या जान्नुपर्ने क्यारेक्टर थियो । आगोमा नाच्नु पर्ने थियो । चलचित्रमा हो चिटिङ भइहाल्छ नि भन्नेमा म थिएँ । तर उहाँहरू केही हुन्न मन्त्र पढेर आगोको राप मारेको छ भन्दै हुनुहुन्थ्यो,” काठमाडौंमा सोमबार दयाहाङले पत्रकारसँगको अन्तरक्रियामा भने, “डिरेक्टर पनि खासै केही हुँदैन भन्नुहुन्छ । मलाई के गर्नु–गर्नु भयो । ट्राइ चाहिँ गर्छु भन्ने भयो । आगोमा पसेँ सफल भएँ । उहाँहरुसँग ज्ञान रहेछ ।’ लामो अनुभव र प्रयासले झाँक्री विद्या विद्यमान रहेको उनले बताए । झाँक्री विद्यालाई अन्धविश्वास भनेर सबैले सहजै भने पनि लामो अभ्यास र अनुभवका कारण केही शक्ति भने यसमा रहेको उनको भनाइ छ ।
यो चलचित्रका निर्देशक यम शेर्पाले भने, “चलचित्रको कथा आफैँमा राम्रो छ । सिनेमाले दर्शकको मन छुन्छ । भावुक बनाउँछ र हसाउँछ पनि,” राम्रो कथामा दयाहाङ राई, दिया मास्के, जितु नेपाल, सिर्जना निङलेखुजस्ता कलाकारको अभिनयनले चलचित्रलाई थप सशक्त बनाएको छ ।” चलचित्रलाई लिएर आम दर्शकमा चासो रहेकाले हलमा पुगेपछि विषय र प्रस्तुतिलाई आम अडियन्सले मन पराउने उनको भनाइ छ ।
“म जहाँ गए पनि दयाहाङको कार्साङ आउँदैछ रे भनेको सुन्छु र टिजर र गीतको कुरा गरेको सुन्छु,” उनले भने, “सायद यस्तै खोजी हुने र चासो भयो भने नै चलचित्र हेरिने होला ।”
कलाकार जितु नेपालले चलचित्र विषय, प्रस्तुति र अभिनय सबै हिसाबले राम्रो बनेको बताए । आफू विदेशमा हुँदा धेरैले यो चलचित्रको विषय र भूमिकालाई लिएर धेरैले सोधेको उनले बताए । “म केन्द्रीय चरित्रमा छु वा सहायक त्यसले केही अर्थ राख्दैन । चलचित्रमा कस्तो छ र अभिनय कस्तो छ भन्ने कुरा हो,” जितु अगाडि भन्छन्, “म केन्द्रीय चरित्र हुँदा पनि काम गर्छु । सहायक चरित्र हुँदा पनि गर्छु ।”
चलचित्रमा दयाहाङ, सिर्जना, जितु र दीयासँगै बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायतका कलाकारको अभिनय रहेको छ ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । सह–निर्मातामा गोविन्द बोहरा छन् । कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन् ।