पुस २६ गते रिलिज हुने चलचित्र ‘कार्साङ’को गीत सार्वजनिक भएको छ । चलचित्रको रिलिज मिती नजिकिँदै जाँदा निर्माणपक्षले शनिबार ‘सात भन्ज्याङ’ बोलको गीत सार्वजनिक गरेको हो ।
डीपी खनालको शब्दरचना, एसडी योगीको संगीत र स्वर एडी योडी समावेश छ। साथमा रेश्मा पुन मगरको पनि स्वर छ । रिकेश गुरुङले एरेन्ज रहेको यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारद्वय दयाहाङ राई र सिर्जना निङलेखु फिचर्ड छन् । गीतमा दयाहाङ र सिर्जनाको प्रेम देखाइएको छ । प्रेम, त्यसका सम्झना, सँगै जिउने रहर र त्यसका लागि दुई पात्रको योजनामा गीत केन्द्रित छ ।
यम शेर्पाको निर्देशन रहेको यो चलचित्र ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित छ । निर्देशक शेर्पाको यो डेब्यु चलचित्र हो । अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथा यो चलचित्रले पेश गर्छ ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । सह–निर्मातामा गोविन्द बोहरा छन् । कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन् ।
चलचित्रमा दयाहाङ र सिर्जनासँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायतका कलाकारको अभिनय रहेको छ । सिर्जना निङलेखुको यो डेब्यु चलचित्र हो ।