निर्देशक सिमोस सुनुवारको आगामी चलचित्र ‘जन्ते बाख्रो’को शुभसाइत गरिएको छ । शुक्रबार यो चलचित्रको मुख्य कलाकार नायक सौगात मल्ल र नायिका गरिमा शर्माले काठमाडौंको कमलादीमा रहेको गणेश मन्दिरमा शुभसाइत गरेका हुन् ।
यही पुस २० गतेदेखि छायांकनमा जाने तयारीमा रहेको यो चलचित्रको मुहूर्त पूजामा अभिनेता मल्ल र गरिमाको मुहूर्त सट खिचिएको थियो । चलचित्रलाई ग्रामीण परिवेशको कथामा निर्माण गरिने निर्माणपक्षले जनाएको छ ।
चलचित्रमा आसिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेरलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । चलचित्रलाई हरि हुँमागाईले छायांकन गर्नेछन्।
मुईन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने चलचित्रको कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखेका हुन्। चलचित्रमा सन्तोष गौतम र निर्देशक सिमोस स्वयं निर्माताका रूपमा छन् ।