अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्र ‘रंगी’ को दोस्रो पोस्टर सार्वजनिक भएको छ । आगामी फागुन २ गतेदेखि प्रदर्शन हुने यो चलचित्रको निर्माण टिमले शुक्रबार नयाँ पोस्टर सार्वजनिक गरेको हो ।
सार्वजनिक पोस्टरमा कलाकार सलोन बस्नेत, नम्रता श्रेष्ठ र बाल कलाकार आयुषी ढकाललाई स्थान दिइएको छ । पोस्टरमा साइकलमा रहेका सलोनले फुडमाण्डुको ब्यागमा आयुषीलाई बोकेका छन् । सलोन र आयुषी खुशी मुद्रामा छन् । सलोनको अगाडि नायिका नम्रता लजालु भावमा उभिएकी छन् । पात्रको पृष्ठभूमिमा वसन्तपुर दरबार स्क्वायरको गल्ली देख्न सकिन्छ ।
बाबुछोरीको कथा भन्ने यो चलचित्रलाई निर्देशक सुरेश न्यौपानेले निर्देशन गरेका हुन् । यो उनको ‘डेब्यू’ निर्देशन हो । चलचित्रमा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ । ‘मिस वल्र्ड नेपाल २०२०’ विजेता नम्रता श्रेष्ठको यो डेब्यू चलचित्र हो ।
सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको चलचित्रमा सक्षम सुवेदी र करिश्मा केसी बस्नेतको निर्माण, सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, बन्दे प्रसादको सम्पादन छ । चलचित्रलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछ ।