कलाकार लक्ष्मी गिरी र आशिर्वाद क्षेत्री अभिनित चलचित्र ‘श्री बुकुरो : द होम कलिङ’को टिजर सार्वजनिक गरिएको छ । बुधवार सार्वजनिक गरिएको चलचित्रको टिजरमा दुई मुख्य पात्र जन्मथलो फर्किरहेको देख्न सकिन्छ । कलाकार लक्ष्मी गिरीले वाचन गरेको कविताको अंशबाट टिजर सुरु भएको छ ।
परिवारलाई केन्द्रमा राखेर कथा प्रस्तुत गरिएको चलचित्रको टिजरमा हिमाल र पहाड हुँदै दुई पात्र लामो समयपछि घर फर्किएको मनोविज्ञान र सेटिङ प्रस्तुत गरिएको छ ।
यो चलचित्रलाई सुदीपभुपाल सिंहले निर्देशन गरेका हुन् । उनी ७ बर्षपछि निर्देशन फर्किएका हुन् । यसअघि उनले ‘माला’ र ‘रुद्रप्रिया’को निर्देशन गरेका थिए । पारिवारिक कथामा निर्माण भएको चलचित्रमा निर्देशक सिंह स्वयंको लेखन तथा रुबी सेन सिंहको निर्माण, सञ्जय लामा र राजेश श्रेष्ठले छायांकन गरेका छन् ।
फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको फिल्ममा निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्माको पनि अभिनय छ । चलचित्रलाई मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा छायांकन गरिएको हो ।