आगामी माघ २५ गते रिलिजको तयारीमा रहेको चलचित्र ‘जुना’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा चलचित्रकी मुख्य कलाकार अस्मिता ढकाललाई प्रस्तुत गरिएको छ । ग्रामीण पहिरनमा प्रस्तुत भएकी अस्मिता सिन्दूर, पोते र हातमा बाला लगाएर कतै हेरिरहेकी छन् ।
‘बाल विवाह सामाजिक अपराध हो । त्यसकारण यसलाई अन्त्य गरौँ’ भन्ने नारा बोकेको ‘जुना’ एक ऐतिहासिक र विशिष्ट प्रकृतिको चलचित्र हो । नेपाली समाजमा व्याप्त महिला हिंसा, बाल विवाह, अनमेल विवाह, बहुविवाह, बलात्कार, जबरजस्ती करणी, छाउपडी जस्ता कुप्रथालाई अन्त्य गर्ने राष्ट्रिय आवश्यकतालाई यस चलचित्रको माध्यमबाट सम्बोधन गर्ने प्रयास गरिएको निर्देशक सेन्चुरीले बताए ।
बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको चलचित्रलाई पर्वतको सालिजा ओख्रेनीमा छायांकन गरिएको हो । चलचित्रमा दीपकप्रसाद घिमिरेको लगानी, राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेन्चुरीको सङ्गीत र रामेश्वर हुमागाईँको डिओपी छ ।
जीवन सेन्चुरीको निर्देशनमा गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च सेन्टर प्रालिको व्यानरले निर्माण गरेको यो चलचित्रमा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहरा, अस्मिता बस्नेत, खगेन्द्र न्यौपाने, विकास आनन्द, इन्द्र बिके र केशव अधिकारीको अभिनय छ ।