यही पुष २६ गतेबाट रिलिज हुने चलचित्र ‘कार्साङ्’को गीतको छायांकन अहिले धमाधम गरिएको छ । निर्माणपक्षका अनुसार चलचित्रको ‘छुपुमा छुपु’ बोलको गीतको छायांकन सोमबारदेखी मुलपानीमा सुरु गरिएको हो ।
निर्देशक यम शेर्पाको निर्देशन रहेको यो चलचित्रको भिडियो अभिनेता दयाहाङ राईमा केन्द्रित छ भन्ने उनको साथमा कलाकार सिर्जना निङलेखुलाई प्रस्तुत गरिएको छ । चलचित्रका मुख्य कलाकार दयाहाङको व्यस्तताका कारण गीतको छायांकनमा ढिलाई भएको थियो ।
एसडी योगी र रेश्मा पुन मगरको स्वर, एसडी योगीको संगीत, वीपी खनालको शब्द र अभी लामाले कोरियोग्राफी रहेको यो गीतको छायांकन सँगै चलचित्रको सबै छायांकन सकिने र प्रचार-प्रसारलाई तिव्र रुपले अगाडि बढाउने निर्माणपक्षको तयारी छ ।
छायांकार पुरुषोत्तम प्रधानको डिओपी तथा निर्माण रहेको चलचित्रमा जितु नेपाल, दिया मास्के लगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्मको टिजर सार्वजनिक भएसँगै यसको चर्चा पनि सुखद देखिएको छ । यो चलचित्रले शेर्पा समुदायको कथा पेस गर्छ ।