काभ्रेको दाप्चामा खानेपानी पुनर्स्थापनाको लागि चलचित्र ‘छक्कापञ्जा ५’को टिमले सहयोग गरेको छ । आइतबार ‘छक्कापञ्जा ५’को टिमले डेढसय घरधुरीलाई धारा निर्माणका लागि पाइप लगायतका अन्य सामाग्री सहयोग स्वरुप प्रदान गरेको हो ।
चलचित्रका निर्माता तथा अभिनेता दीपकराज गिरी र कार्यकारी निर्माता निर्मल शर्माले उक्त सामाग्री प्रदान गरेका थिए । गएको असोजको बाढी पहिरोका कारण दाप्चाका खानेपानीको धारा र मुहानमा पूर्ण रुपमा क्षति पुर्याएको थियो ।
अहिले आवश्यक सामाग्री प्रदान गरिएको भएपनी धारा पुन: मर्मतका लागि झन्डै दुई साता लाग्ने निर्माणपक्षले जनाएको छ । यसपछि, धाराको शुभारम्भ गर्न दीपकलगायतका टिम फेरी दाप्चा जानेछ ।
यो चलचित्रको सम्पूर्ण छायांकन दाप्चामा गरिएको थियो । कार्यक्रममा बोल्दै गिरीले दाप्चासँगको प्रेम अतुलनीय रहेको पनि बताए । उनले चलचित्र छायांकनको लागि मात्र नभएर समाजप्रतिको दायित्व रहेको समेत जनाए ।
‘छक्कापञ्जा’ चलचित्रको पहिलो भाग प्रदर्शनपछि निर्माताले छायांकन थलो काभ्रेको पनौती नगरपालिकालाई यसअघि एम्बुलेन्स प्रदान गरेका थिए ।