नायक दयाहाङ राईको प्रमुख भूमिका रहेको चलचित्र ‘कार्साङ’ यही पुस २८ गतेबाट प्रदर्शनमा आउँदैछ । उनी यो चलचित्र मार्फत ६ महिनापछि दर्शकमाझ आउँदैछन् ।
उनको चलचित्र ‘घर ज्वाईं’ असार २८ गते रिलिज भएको थियो । त्यसयता दयाहाङ अभिनीत ‘कार्साङ’ रिलिज हुन लागेको हो । यो बिचमा उनको कुनैपनी चलचित्र हलमा रिलिज भएको छैन् ।
धेरै लामो समयपछि हलमा उनको चलचित्र रिलिज हुनेभएकोले पनि ‘कार्साङ’ दर्शकको लागि प्रतिक्षित बन्न सक्छ । चलचित्रमा उनी आम ग्रामीण परिवेशको एक पारिवारिक जिम्मेवार अभिभावकको भूमिकामा देखिदै छन् । अभाव र दुःखबीच आफ्नो जातिको संस्कारलाई जोगाउने इमान्दार चरित्रमा उनी देखिन लागेका हुन् ।
यो चलचित्रले गरिबीमा जीवन बिताइरहेका आम नेपालीको कथा भन्दा दर्शकले शेर्पा समुदायको कल्चर पनि अनुभूत गर्न पाउनेछन् ।प्रायः दयाहाङ हाइफाइ र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका कलाकार हुन् । यसपटक पनि उनी शेर्पा समुदायको कथा लिएर दर्शकलाई भेट्न आउँदैछन् ।‘कार्साङ’ यम शेर्पाको डेव्यु निर्देशन हो भने कथा पनि निर्देशक स्वयंले लेखेका छन् ।
चलचित्रमा अभिनेता दयाहाङ राईसँगै सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायत कलाकारको अभिनय छ ।