प्रकाश सपूतको लेखन, निर्देशन, निर्माण र अभिनय रहेको चलचित्र ‘वसन्त’को छायांकन सकिएको छ । यो चलचित्रको बुधबार काठमाडौंको ठमेलमा अन्तिम दृश्यको छायांकन गरिएसँगै सम्पूर्ण छायांकन सकिएको निर्देशक सपुतले बताए ।
यसअघि नै चैत्र २२ गते अर्थात् चैते दशैंलाई प्रदर्शन मिति घोषणा गरिएको यो चलचित्रको छायांकन ३८ दिन लगाएर गरिएको हो । प्रकाशकै गृहजिल्ला बाग्लुङ, काठमाडौं, वीरगञ्ज, हेटौंडा र पथलैयामा चलचित्रको छायांकन गरिएको छ ।
प्रकाश सपूत र स्वस्तिमा खड्काको प्रमुख भूमिका रहेको यो चलचित्रले अन्तरजातीय प्रेमकथालाई प्रस्तुत गर्छ । चलचित्रमा प्रकाश र स्वस्तिमासँगै प्रभात पाल ठकुरी, खड्क बहादुर पुन, शिवांशी श्री, अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतको पनि अभिनय छ । प्रकाश र स्वस्तिमाले यसअघि ‘जाले रुमाल फाट्यो’ र ‘कुरा बुझ्नु पर्छ’मा सहकार्य गरेका थिए ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको चलचित्रमा प्रकाश स्वयंको संगीत, सुसन प्रजापतिको छायांकन, मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नाना थकाली कार्यकारी निर्माताको रुपमा छन् ।